काठमाडौँ – विगत एक दशक देखि चलचित्र निर्देशन यात्रामा लागेकी निर्देशक समुन्द्र भट्ट नेपाली चलचित्र क्षेत्रमा एउटा गर्विलो नाम हो । सानै उमेर देखि चलचित्र क्षेत्रमा सक्रिय रहेर सिने नगरीमा स्थापित हुन सफल निर्देशक समुन्द्र भट्ट चलचित्र निर्देशक समाज नेपालको कोषाध्यक्ष हुन्। चलचित्र विषयमा पढेर निर्देशनमा प्रवेश गरेकी उनी सामाजिक कार्यमा समेत परिचित नाम हो। निडर स्वाभाविक भट्ट चाडै नै नयाँ चलचित्र निर्देशन गर्ने तयारीमा छिन। पछिल्लो समय म्युजिक भिडियो पनि निर्देशन गर्न सुरु गरेकी उनले नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन विभिन्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिसकेकी छिन। व्यवसायी समेत रहेकी कुशल चलचित्र निर्देशक समुन्द्र भट्टसँग सुजन बर्देवाले गरेका संक्षिप्त कुराकानी यहाँ प्रस्तुत छ।
-नमस्कार ! आजकाल के मा व्यस्त हुनुहुन्छ ?
नमस्कार, आजकल नयाँ चलचित्रको स्क्रिप्ट, गीत फाइनलको तयारीमा लागेकी छु। त्यसै गरी आफ्नै व्यापार व्यवसाय र सामाजिक कार्यमा व्यस्त छु।
– अहिलेको सिनेमाको मुलधार कता गइरहेको जस्तो लाग्छ ?
सिनेमा एउटा समाजको ऐना हो, जसले समाजमा देशमा र विश्वमा भएका मानचित्रलाई दर्शकसामु प्रस्तुत गर्दछ। तर हामीले सधैँ मनोरञ्जनको साधन मात्रै मान्यौ । चलचित्र एउटा विश्वविद्यालय पनि हो । नेपालमा सिनेमा लाई केवल हलमा चल्नुलाई सफलता मानिन्छ । तर त्यो होइन । देशमा परिवर्तन ल्याउने बाटो पनि हो चलचित्र अनि मानिसको जीवनलाई परिवर्तन गर्ने माध्यम समेत हो । अहिले नेपालमा निर्माण भइरहेका नेपाली चलचित्रको मुलधार सस्तो मनोरञ्जन मात्रै हो । साढे दुई घण्टा दर्शकले सस्तो र भड्किला डाइलग, हाउभाउ ,कटाक्ष , नारीको नाङ्गा नर्तक, यौन प्रदर्शन, अनावश्यक फाइट र समाजको भल्गारिटि लाई मात्रै हेर्नुपर्ने बाध्यता छ । त्यही हेरेर क्षणिक आनन्द लिन्छन् दर्शक। हल बाट बाहिर आउँदा बिर्सनु पर्छ किनकि त्यसैले दर्शकको मुटुमा मस्तिष्कमा स्थायी प्रभाव पारेकै हुँदैन । तसर्थ हामीले यथार्थपरक चलचित्र बनाउन समेत लाग्नु पर्छ। जसले गर्दा भोलिका पुस्ताहरूले हाम्रो क्रियसनलाइ इतिहासको रूपमा याद गरुन।
-निर्देशक समाजले के कस्ता काम गर्दै आएको छ ?
निर्देशक समाज एउटा संस्था हो। निर्देशक समाजले नेपाली चलचित्र क्षेत्रलाई आन्तरिक तथा बाह्य रूपमा कसरी प्रवर्धन गर्न सकिन्छ र दर्शकहरूलाई कसरी राम्रो चलचित्र मार्फत मनोरञ्जनको साथमा शिक्षा प्रदान गर्ने र निर्देशकहरुको हकहित तथा उत्थानमा लागेर समग्र चलचित्र उद्योगलाई उकास्ने कार्यमा लागेको छ। कोभिड-१९ र लकडाउनको मारमा परेका निर्देशकहरुलाई राहत वितरण गर्ने कार्य समेत गर्यो र अबका दिनमा चलचित्र उद्योग पुनः सुचारु भएको अवस्थामा सम्पूर्ण निर्देशकहरू एकबद्ध भएर चलचित्र क्षेत्रलाई उकास्ने सहकार्यमा लागेको छ।
– तपाई आफूलाई जनतासामु कसरी चिनाउन चाहनुहुन्छ ?
म एक चलचित्र निर्देशक हु, विगत लामो समय देखि चलचित्र निर्देशनमा नै लागेकी छु। भाग्यमा भन्दा कर्ममा विश्वास गर्छु र राम्रो चलचित्र दर्शकहरूले दिने कोसिसमा छु। चलचित्र क्षेत्रलाई प्रवर्धन गर्ने मेरो उद्देश्य छ। चलचित्र निर्देशन सँगै आफ्नो व्यवसाय, सामाजिक कार्यमा समेत सक्रिय रहदै आएकी छु। यद्यपि म चलचित्रकर्मी भएर चलचित्र क्षेत्रको उत्थानमा लागिपरेको हुँदा चलचित्रकर्मी नै भनेर चिनाउन चाहन्छु।
– जीवन अनि जीवनका भोगाइहरु के हुन् ?
‘सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन, जस्तो भोग्यो उस्तै हुन्छ। हाम्रो जीवनको महत्वाकांक्षा, सपना, भोगाई, सोचाई र देखाईको वरिपरि केन्द्रित छ। जीवन जिउनु एक कला हो । जन्मिएपछि हामी एक दिन मर्नु नै पर्छ । तर, हामी हाम्रो जिबनकालमा कस्तो जीवन बाँच्छौँ भन्ने कुरा हाम्रो कलाको कुरा हो । कसैले गुणस्तरिय जीवन बाँच्छन्, कसैले बेकारको जीवन बाँच्छ । एउटा भनाई छ, ‘जीवन कति लामो बाँच्छौँ, त्यसले कुनै अर्थ राख्दैन । तर, कस्तो जीवन बाँच्छौँ, त्यसले खास अर्थ राख्छ ।’ जन्म पश्चात् जीवनलाई सफल बनाउनु महान् वीरता हो । जीवनमा सफलताको लागि इच्छाशक्ति, ज्ञानशक्ति र कर्म शक्तिको सदुपयोग गर्नुपर्छ । शुभ इच्छा र त्यसअनुसार कर्म गर्ने व्यक्तिले नै ज्ञान शक्ति प्राप्त गर्छ । जब निराकार आत्मा, साकार शरीर, इन्द्रिय र मनको साथ मिल्छ, तब शरीरमा शक्तिको सञ्चार हुन्छ । जन्म भएपछि आफ्नो पूर्णशक्तिको विकास गर्नु जीवनको लक्ष्य हो । जीवनमा हरेक मानिसको सपना हुन्छ। अधिकांश मानिस आफूलाई सफल, सबल र सक्षम बनाउन चाहान्छन। तर पनि किन हुन्न हरेक मानिसको जीवन सोचे जस्तो ? किन सबै मानिस सफल हुन सक्दैनन् ?
-तपाइको बिचारमा सिनेमा भनेको के हो ?
सिनेमा वा फिल्म एक प्रकारको सञ्चार माध्यम हो जसमा चल्ने चित्र र आवाजको प्रयोग गरेर कथालाई प्रस्तुत गरिन्छ। संसारभरका मानिसहरू मनोरञ्जनका लागि चलचित्र हेर्दछन्। धेरैजसो चलचित्रहरू यसरी बनाइन्छ कि ठुला पर्दा भएका सिनेमाघर वा चलचित्र भवनमा देखाउन सकियोस्।चलचित्र श्रव्य दृश्य माध्यम भएकाले यसमा हामी त्यस्ता दृश्यहरू देख्न सक्छौँ। समाजलाई अभिव्यक्त गर्ने र प्रभावित गर्ने काम फरक धारका चलचित्रहरूको हो, व्यावसायिक चलचित्रहरूको होइन । व्यावसायिक चलचित्रको एक मात्रै उद्देश्य मनोरञ्जन दिनु हो । दर्शकलाई भरपुर आनन्द दिन सकियो भने व्यावसायिक चलचित्रको कर्तव्य पूरा हुन्छ। संसारमा जति पनि कला रूपहरू छन्, ती सबै अटाउन सक्ने एउटै मात्र कला भनेको चलचित्र नै हो । साहित्य, सङ्गीत, गायन, नृत्य, चित्र कला, मूर्ति कला, वास्तु कला, अभिनय कला, स्थापत्य कला आदि जति पनि कलाहरू छन्, ती सबैको उपयोग चलचित्रमा हुन सक्छ ।
-यस्तो अवस्थाबाट चलचित्र क्षेत्रलाई माथि उकास्न के गर्नुपर्छ?
कोभिड-१९ तथा लकडाउन गर्दा थालिएको चलचित्र उद्योगमा कलाकार र कन्टेन्ट राम्रो भए उकास्न समस्या छैन। तर, अब फिल्मको लगानी घटाउनुपर्छ। दुई तिन करोड लगानीका फिल्महरू रु.१ करोड सम्ममा निर्माण गर्नुपर्छ। थोरै लगानीमा उत्कृष्ट काम गर्न सक्यो भने घाटा लाग्दैन। लगानी घटाउन कलाकार, प्राविधिक अथवा निर्देशकलाई कम ज्याला दिएर चाहिँ हुँदैन। बरु कलाकारलाई सेयर दिनुपर्छ। निर्देशन पक्षलाई पनि सबल बनाएर कथालाई न्याय दिएर हामीले दर्शक सामु पुर्याउन सक्यो भने चलचित्र क्षेत्रलाई उकास्न सकिन्छ।
– अन्त्यमा के भन्न चाहनुहुन्छ ?
कोरोनाले गर्दा चलचित्र उद्योग अझ बढी मारमा परेको छ। भर्खरै मात्र सिनेमा घरहरू खुले पनि दर्शकहरू गएर चलचित्र हेर्ने वातावरण मिलेको छैन। यस्तो अवस्थामा सरकारले अन्य क्षेत्रलाई जस्तै उच्च प्राथमिकतामा राखेर सहुलियत पूर्ण ऋण उपलब्ध गराई धरासायी बनेको चलचित्र क्षेत्रलाई उकास्न मद्दत गर्नु पर्ने देखिन्छ। महामारीमा अझ नसकिएको हुँदा सबै उमेर र वर्गका मानिसहरू आ–आफ्नो क्षेत्रमा सजग र सुरक्षित रहनु हुन विनम्र आग्रह छ । एक अर्कालाई सकेको मानवीय सहयोग गर्न हार्दिक अपिल गर्दछु । गीत सङ्गीत, चलचित्र, मोडलिङ र पत्रकारिता क्षेत्रलाई व्यवस्थित बनाउन लागि परौँ।