अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२३ | Colorodo: 08:38

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट साढे एक अर्ब बचत

बिआरटीनेपाल २०७७ पुष १६ गते ७:४२ मा प्रकाशित

नेपाल आयल निगमले गत वर्षदेखि सञ्चालनमा ल्याएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट रु साढे एक अर्ब बचत गरेको छ ।निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक आर्थिक प्रतिवेदनअनुसार २०७६ भदौदेखि २०७७ असारसम्मको १० महिनामा ढुवानीबापतको रु एक अर्ब ४७ करोड बचत भएको हो ।

उक्त प्रतिवेदनअनुसार प्रति महिना पाइपलाइनमार्फत इन्धन ढुवानी हुँदा रु १४ करोड ७० लाख बचत हुँदै आएको छ । गत वर्षको भदौ २४ गतेबाट मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको थियो । इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट ट्याङ्करमार्फत इन्धन ढुवानी गर्दै आएको निगमले गत वर्षबाट पाइपलाइनमार्फत डिजेल ढुवानी शुरु गरेका थियो ।

पाइपलाइनमार्फत डिजेल ढुवानी गर्न थालेपछि ठूलो रकम बचत हुन थालेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा पछिल्ला वर्ष इन्धनको मूल्य घट्नु र निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै गएपछि नाफामा वृद्धि भएको हो ।

इन्धनको ढुवानी रकम बचत हुनुका साथै अघिल्लो वर्षको नाफा रकमको ब्याजबाट समेत नाफा बढाउन सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ । पाइपलाइन सञ्चालनको शुरुआती दिनमा कम मात्रामा डिजेल आयात भएकामा हाल उल्लेख्य मात्रामा आयात भएको निगमले जनाएको छ ।

लामो समयदेखि घाटामा रहेको निगम आर्थिक वर्ष २०७२/७३ देखि (पाँच वर्षयता) नाफामा सञ्चालन भइरहेको छ । निगमले आव २०७२/७३ मा रु १९ अर्ब ३६ करोड, आव २०७३/७४ मा रु नौ अर्ब ४५ करोड, २०७४/७५ मा रु तीन अर्ब ५८ करोड, २०७५/७६ मा आठ अर्ब ७५ करोड र गत आव २०७६/७७ मा रु १२ अर्ब ८७ करोड नाफा कमाएको छ ।

निगमले आर्थिक वर्ष २०७५र७६ मा रु २९ करोड रहेको चुक्ता पूँजीलाई रु दश अर्ब पूँजी वृद्धि गरेर रु एघार अर्ब पु¥याएको थियो । आर्थिक वर्ष २०७५/७६ मा निगमले नाफा रकमबाट २० प्रतिशत लाभांश वितरण गरेको थियो  आर्थिक वर्ष २०७६र७७ मा नाफा रकमबाट शेयर होल्डरलाई २० प्रतिशत लाभांश वितरण गर्ने तयारी गरेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय