अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४४ | Colorodo: 15:59

वयस्कहरूका लागि स्वस्थ र सुखी जीवनयापनका १० सूत्र

रामप्रसाद सुवेदी २०७७ पुष १४ गते ८:३६ मा प्रकाशित

पूर्वीय दर्शनको मान्यता, भगवान् बुद्धका उपदेश, सद्गुरुजी, ओशो, योगी विकासानन्द, हरिदासजी, रमेश नेपाललगायतका गुरुहरूको प्रवचन र स्ववचनको श्रवण र अध्ययन तथा आफ्नो अनुभवसमेतको विश्लेषणबाट व्यक्ति स्वस्थ र सुखी रहनका लागि हरेकले तलका कुराहरू बानीका रूपमा विकास गर्नु उपयुक्त हुने निष्कर्ष निस्कियो । कृपया सुरुमा यी कुरा पढेर मनन एवं विश्लेषण गर्नुहोस् । त्यसपछि कुनैकुनै बुँदा आफैँले परीक्षण गरी हेर्नुहोस् । उपयोगी लागे आफूले प्रयोग गर्नुहोस् र अरूलाई पनि प्रयोग गर्न सल्लाह दिनुहोस् ।

(१) हरेक दिन सकेसम्म बिहान ५ बजेभित्रै (ब्रह्ममुहूर्त) मा उठ्ने बानी बसाल्नुहोस् । ६–८ घण्टा सुतेपछि तपाईँको निद्रा पुग्छ । ओछ्यानबाट उठ्दा अलार्मविना स्वाभाविक रूपमा उठ्ने कोसिस गर्नुहोस् । यदि अलार्म लगाउने हो भने वैराग्य धुनजस्तो मधुर सङ्गीतको अलार्म लगाउनुहोस् ।

(२) बिहान बिउँझेपछि आँखा खोल्नुअगि १०–१५ मिनेट जति मनमनै आफूले अगिल्लो दिन दिनभर गरेका कामको समीक्षा गर्नुहोस् र आजको लागि योजना बनाउनुहोस् । त्यसपछि १० सेकेन्ड जति दुई हत्केला बिस्तारै रगडेर आँखामा लगाउनुहोस् र बिस्तारै आँखा खोल्नुहोस् । उठ्दा दायाँ कोल्टो फर्केर उठ्नुहोस् । दिनको सुरुआत मुस्कुराहटबाट गर्नुहोस् । यसमा गर्व गर्नुहोस् कि तपाईँ आज जीवितै उठ्ने भाग्यमानीमध्ये एक हुनहुन्छ ।

(३) बिहान उठेर नित्यकर्म गरेपछि मन र शरीर दुवैको स्वस्थताको लागि कम्तीमा पन्ध्र मिनटदेखि आधा घण्टासम्म एकाग्रतामा रहने प्रयत्न गर्नुहोस् । यसका लागि ध्यानमा बस्ने, जप गर्ने वा प्रवचन सुन्ने जस्ता क्रियाकलापहरू गर्नुहोस् । यस समयमा उपयुक्त योगाभ्यास र प्राणायाम गर्नु उपयुक्त हुन्छ ।

(४) बिहान उठेपछि १ लिटरसम्म मनतातो पानी पिउनुहोस् । पटक पटक थोरै थोरै पानी पिइरहने बानी राम्रो होइन । तिर्खा लागेका बेला पर्याप्त पानी पिउनुहोस् । खानासँग खाना निल्नका लागि आवश्यक पर्ने जति मात्र पानी घुट्की लाउनुहोस् । बेलुका धेरै पानी नपिउनुस् ताकि राती उठ्नुपर्ने नहोस् । पिउने पानी तामाको भाँडामा राख्ने गर्नुहोस् ।

(५) शरीरलाई सधैँ क्रियाशील राख्नुहोस् । दिनभरमा कम्तीमा ३–४ किलोमिटर (४–५ हजार पाइला) हिँड्ने र कम्तीमा ३–४ घण्टा सिधा भएर बस्ने गर्नुहोस् । शरीरमा कुनै अस्वस्थता भएमा सकेसम्म प्राकृतिक आहार विहारले आफूभित्रै प्रतिरोध क्षमता विकास गरी स्वस्थ हुने प्रयत्न गर्नुहोस् । औषधि प्रयोग गर्नुपर्ने भएमा पहिला आयुर्वेदिक र होमियोपेथिक गर्नुहोस् र पछि मात्र एलोपेथिक औषधि प्रयोग गर्नुहोस् ।

(६) तपाईँको सबभन्दा भरपर्दो डाक्टर वा गुरु तपाईँ आफैँ हो । तपाईँको शरीरलाई केको आवश्यकता छ र के गर्दा राम्रो हुन्छ भन्ने कुरा डाक्टरलाई भन्दा बढी तपाईँलाई नै थाहा हुन्छ । कुनै कुराप्रतिको आफ्नो मनको भावबाट शरीरको आवश्यकता वा सत्य थाहा पाउनुहोस् अनि दिमाग (विवेक) को प्रयोग गरी उपयुक्त निर्णय लिनुहोस् ।

(७) मानसिक स्वास्थ्य नै शरीर स्वस्थताको मूल कारक हो । मन व्यवस्थापनका लागि कम्तीमा १० दिनको आधारभूत विपश्यना ध्यान उपयोगी हुन्छ । आत्मसन्तुष्टि नै सबैभन्दा ठुलो सुख हो । चिन्ता नलिनुहोस्, चिन्ताले चितामा पु¥याउँछ । हाँसो र सकारात्मक सोचले चिन्ता कम हुन्छ । आफूले जुन काम गर्नुहुन्छ, इमानदारीपूर्वक गर्नुहोस् र त्यसैमा रमाउनुहोस् । आफूसँग जे छ त्यसमा ८०५ सन्तुष्टि लिनुहोस् र थप प्रगतिका लागि २०५ ठाउँ राख्नुहोस् ।

(८) माया र घृणा दुवै दुखका कारण हुन् । त्यसैले कसैसँग पनि अति नजिकको मित्रता वा अति दुस्मनीको सम्बन्ध नबनाउनुहोस् । अति नजिकको सम्बन्धले छुट्टिँदा कठिन हुन्छ भने अति दुस्मनीको सम्बन्धले सँगै बस्दा वा पछि भेट्दा असहज हुन्छ । अरूसँग व्यवहार गर्दा आफूलाई उसको ठाउँमा राखेर सोच्नुहोस् ।

(९) शाकाहारी भोजनमा जोड दिनुहोस् । बेलुकाको खाना ढिलोमा ८ बजेसम्म खाइसक्नुहोस् । घरीघरी खाइराख्ने बानी नगर्नुहोस् । खाने समय र सुत्ने समयबिच २ घण्टाको फरक पार्नुहोस् । बेलुका हल्का खाना खानुहोस् । बेलुका र बिहानको खानाबिच १२ देखि १६ घण्टाको फरक (उपवास) हुनु राम्रो हुन्छ ।

(१०) बेलुका सामान्यतया १० बजेभित्र सुतिसक्नुहोस् । उत्तर सिरानी गरेर नसुत्नुहोस् । सुत्दा देब्रे कोल्टो फर्केर सुत्नुहोस् । निदाउनुअगि सकारात्मक कुरा सोच्नुहोस् । निद्रा लाग्न कठिन भए मधुर सङ्गीत वा प्रवचन सुन्दै सुत्नुहोस् ताकि कति बेला निदाएँ भन्ने पत्तै नहोस् ।

माथिका कुराहरूलाई आदर्शका रूपमा मनमा राखेर बानीको रूपमा अपनाउने प्रयत्न गर्नुभयो भने तपाईँको जीवनलाई स्वस्थ र सुखी बनाउन अवश्य मदत पुग्नेछ ।

प्रतिक्रिया