अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५६ | Colorodo: 16:11

नेपाल र अरू तेस्रो मुलुकहरूमा कोभिड खोपको उपलब्धता

रामकुमार सुबेदी २०७७ पुष १० गते १२:०१ मा प्रकाशित

कोभिडले विश्वको अर्थव्यवस्था धराशायी बनायो l बेरोजगारी बढ्यो l लक डाउन फेरि सुरु भयो l त्यति मात्रै हैन मान्छेको रहनसहन, खानपिन, चालचलन, व्यवहार, संस्कार र पर्व, परम्परा र प्रचलनमा आमूल परिवर्तन ल्याइदियो l कति देशहरूमा कोभिडले राजनैतिक उलटपलट र कतिमा नेता र सत्तामा परिवर्तन ल्याइदियो l यो आर्थिक सामाजिक र राजनैतिक सङ्क्रमणले विश्वलाई १९३० मै फर्काउला भनेर डर भइरहेको बेलामा एक आशाको ज्योति पनि देखिएको छ l

तर यो आशा र भरोसाको किरण विपन्न मुलुक र मुलुकवासीहरूले कहिले झुल्केला भनेर कुरेर बसिरहेका छन् l झन्डै एक वर्ष अन्धकारमा मृत्युको सम्मुखमा अँध्यारो मुख लगाएर बसेका ती मुलुकहरूले अझै महिनौँ मूकदर्शक भएर बस्नु पर्ने देखिन्छ l त्यो हो कोभिड भ्याक्सिन, कोरोनाको खोप विश्वका तेस्रो मुलुकहरूले कहिले पाउने वा पुग्ने भन्ने चिन्ता l

बिस विष बनेर आएको विश्वमा फाइजर र मोडेर्नाले डिसेम्बरमा कोभिडको भ्याक्सिनको डिस सम्पन्न र शक्तिशाली देशमा त बाँडेको छ तर मोडेर्ना र फाइजरको कोभिड क्लिन पार्ने क्लिनिकल सेनिटाईजर मेरो जन्मभूमि नेपाल जस्ता मुलुकहरूको थाली २०२१ को मध्यसम्म खाली नै हुने देखिन्छ l अमेरिकाले आरम्भ गर्‍यो, बेलायतले सुरुवात गर्‍यो तर नेपालले कहिले पाउने र पुग्ने ख्याल छैन l राजनैतिक अस्थिरता, आर्थिक विपन्नता, ढिलासुस्ती वा अनियमित कामकारबाही र सोच राख्ने प्रशासन र नैतिक उच्छृङ्खलता भएका नेतृत्व भएका मुलुकहरूको मुलुकवासीको आशा निराशामा परिणत हुनसक्छ l

अझै नेपाल त मध्यावधि निर्वाचनमा होमिँदै छ र कोभिड नियन्त्रण र निवारणमा खर्च गर्नु पर्नेमा निर्वाचनमा खर्च हुँदा नेपाल र नेपालीहरूले खोपको होप गर्नु पश्चिमबाट घाम उदाउला कि भनेर सोचे झैँ हुनेछ, किनकि खोप पश्चिमबाट नै आउनु पर्छ l जनताप्रति जिम्मेवार सरकार कोरोनाको सङ्क्रमणको बेलामा गैर जिम्मेवार बनी मध्यावधिमा जान्छ भने जनताको स्वास्थ्यमा, कोभिड नियन्त्रणमा वा खोपको आयात र वितरणमा चिन्ता, चासो र प्रयास गर्छ भनेर सोच्नु आफैलाई मूर्ख साबित गर्नु हो l नेपाल भर्खरै एसियाको भ्रष्टाचार मुलुकमा दर्ज भएको र कोभिडको नियन्त्रण र उपचारमा चाहिने सामाग्रीहरूमा अनियमितता भएको संसार सामु छिपेको छैन l जसका कारण जनताको स्वास्थ्यमा खेलाँची र खेलबाड हुने सम्भावना देखेर निःशुल्क वा सस्तो मूल्यमा खोप उपलब्ध गराउने देश वा संस्थाहरू हच्किने डर छ l

धेरै तेस्रो मुलुकहरूले आफ्नो देशमा भ्याक्सिन भित्र्याउन र देशवासीलाई जीवन दिन संवाद, सम्झौता, साझेदारी, समझदारी र सहमति गर्दछन् l तर सौदाको उन्माद र बोलवालाहरूको बोलकबोलले निर्धन राष्ट्रहरूले सबै जनताका लागि २०२४ सम्म कोरोनाको खोप कुर्नु पर्ने अनुमान गर्न सकिन्छ l खोपको मूल्य वा उपलब्धता मात्रै हैन, अविकसित देशहरूले विपन्न वर्गहरूलाई कसरी निःशुल्क वा न्यून मूल्यमा खोप लगाउन सक्छ भन्ने भय छ l अझै कति देशहरूमा त स्वास्थ्य बिमा पनि छैन र कति मुलुकहरूले स्वास्थ्य सुविधा हो यो हक हैन भनेर जिम्मेवारीबाट पन्छिने गरेका छन् जसले कोरोना खोपलाई होपलेस बनाउने सम्भावना देखिन्छ l स्थल र हवाई मार्ग यातायात सुविधाको कमी, खोपलाई चिसोमा राख्ने स्टोरेजको अभाव र भ्याक्सिन वितरणको असमानताले कोभिड खोप तेस्रो मुलुकहरूले समयमै पाउने देखिन्न l

फाइजरले डिसेम्बरमा पहिलो प्रहरमा खोप बजारमा ल्यायो तर त्यो पनि अमेरिकी र बेलायती बजारमा मात्रै l लाखौँ खोपहरू पश्चिमा मुलुकहरूले ल्याई लाई सकेका छन् l खोप उत्पादन गर्न समय लाग्छ, पहिलो डोज ल्याई सकेको खोप समाप्त हुन लागेको छ फेरि यो खोप दोस्रो डोज पनि लगाउनु पर्छ l उत्पादन र वितरण प्रक्रियामा केही समय लाग्छ l फाइजरले २०२१ मा कम्तीमा १. ३ बिलियन डोज उत्पादन गरी उपलब्ध गराउने लक्ष्य लिएको छ र मोडेर्नाले झन्डै १ बिलियन डोज उपलब्ध गराउने योजना बनाएको छ l विश्वको जनसङ्ख्या करिब ८ बिलियन छ र सबैलाई सहज रूपमा कोभिडको खोप उपलब्ध गराउन लगभग ४ वर्ष लाग्छ l सम्पन्न पश्चिमाहरू ३/ ४ हप्तामा दोस्रो डोज लगाउने बेला भैसकेको छ तर अविकसित र अल्पविकसितहरूमा महामारी फैलिएर हायलकायल भएका छन्, खोप आउने र जनताका जीवन जोगाउने त दिवा-स्वप्न भएको छ l

औषधी निर्माता कम्पनीहरूले खोप अत्यधिक उत्पादन गर्ने सोच बनाए पनि राज्यले कहीँ र कहिलेकाहीँ उत्पादन र वितरणमा अङ्कुश लगाउने गर्छ l फेरि विकसित राष्ट्रहरू राष्ट्रवासीको स्वास्थ्य लाभलाई राज्यको दायित्व मानेर खोप निर्मातासँग बढी मूल्यमा बढी नै खरिद गर्ने प्रयास गर्छन् र अहिले त्यही गर्दछन् l पश्चिमाहरू आफ्नो मुलुकलाई कोरोना भ्याक्सिन पर्याप्त भण्डारण र वितरण गरी तेस्रो मुलुकहरूको लागि खोप ललिपप मात्रै हुनसक्छ l यो लुप होलको असमान खोप वितरणले तेस्रो मुलुकहरूका जनताको जीवन लोप हुन पनि सक्छ l

कोरोना खोपको मूल्य पनि महँगो छ l फाइजरको पहिलो १०० मिलियनको खोप खरिद गर्दा १ डोजको झन्डै २० डलर पर्छ l खोप दुई डोज लगाउनु पर्ने भएकोले ४० डलर मूल्य तिर्नु पर्छ l नेपालमा झन्डै पाँच हजार रुपैयाँ लाग्ने देखिन्छ l यसमा ढुवानी र “अन्य विविध खर्च” जोडिएको छैन l मोडेर्नाको त झन् महँगो छ l यसको पहिलो डोज नै झन्डै ३५ डलर पर्छ l दुई डोज लगाउँदा ७० डलरको हाराहारी पर्न जान्छ l केही औषधी निर्माता कम्पनीहरूले निर्धन राष्ट्रहरूलाई सस्तोमा खोप उपलब्ध गराउने बाचा गरेका छन् तर ती कम्पनीहरूले २०२१ पछि मात्रै खोप उपलब्ध गराउने योजना छ l जस्तै एस्ट्राजानिकाले ४०० मिलियन डोज अल्पविकसित र अविकसित राष्ट्रहरूलाई मात्रै ३/ ४ डलरमा २०२१ जुलाईसम्म उपलब्ध गराउने बताएका छन् l त्यसपछि यसको मूल्य वृद्धि हुनेछ l जन्सन एन्ड जन्सनले कोरोनाको खोप नाफा कमाउने नियतले उत्पादन गरेको हैन गरिब जनताको सार्वजनिक स्वास्थ्यको हितलाई ख्याल गरेर उत्पादन गर्नेछौँ भनेको छ l चीनले पनि विश्वव्यापी जनताका कल्याणलाई ध्यानमा राखेर कोभिडको खोप उत्पादन र वितरण गरिने अठोट लिएको छ l

धनी राष्ट्रहरूले कोरोना खोपमा कब्जा जमाउने खतरा बढेको देखेर विश्व स्वास्थ्य सङ्गठन र अरू केही सङ्घ, संस्था मिलेर अल्पविकसित र अविकसित मुलुकहरूमा पनि कोरोनाको खोप सस्तोमा उपलब्ध गराउन कोभाक्स ईन अप्रिल योजना बनाएका छन् l जसमा विपन्न मुलुकहरूले खोपका लागि प्रक्रियामा सामेल भई खोपमा निर्धन राष्ट्रहरूको पहुँच बढ्नेछ l तर कोभाक्समा बजेटको अभाव, विकसित मुलुकहरूको बेवास्ता व्यवस्थापनमा कमजोर र झन्झटिलो प्रक्रिया र प्रयासले परिणाम राम्रो आएको देखिएन जसका कारण तेस्रो मुलुकहरूको शीघ्र खोपको चाहनालाई असफलता हात पर्ने त्रास छ l अति गरिब राष्ट्रहरूका जनताका स्वास्थ्यमा धनी राष्ट्रहरूले होस्टेमा हैँसे गर्ने विश्वव्यापी मान्यता विपरीत सम्पन्न मुलुकहरूको एकता बेवास्ता गर्नतिर अग्रसर छ l

धनी राष्ट्र मध्ये धेरैले कोरोनाको खोप भण्डारण गर्ने, आफूमा सीमित गर्ने, आफूलाई पहिले भन्ने सोच, साधना, साध्य र कार्यले गरिब देशहरूलाई कोरोनाको खोप ”साँढेको झर्ला र खाउँला” भन्ने उखान जस्तै भएको छ l जस्तै, अमेरिका, क्यानडा र बेलायत यस्ता देशहरू हुन् आफू बाहेक अरूलाई मान्दैनन् र आफ्नालाई बाहेक अरूलाई देख्दैनन् l यो होर्डिङले अरू विपन्न देश र देशवासीको स्वास्थ्य माथि शक्ति सम्पन्न मुलुकले पतित खेल र खेलबाड गर्दैछ l स्वास्थ्य सुविधा सुविधा हैन अधिकार हो भन्ने मान्यतालाई धज्जी उडाउँदै छ l स्वास्थ्य सम्बन्धी राष्ट्रहरूको संवैधानिक अधिकार र विश्वव्यापी बाँच्ने हकलाई निर्मम हत्या गर्दैछ l

कोरोना खोपको खर्च र मूल्य पछि निर्धन मुलुकहरूमा यसको वितरणमा अर्को विकराल समस्या छ l कति देशहरूमा सवारी साधनको अभाव छ l कति राष्ट्रहरूमा पक्की सडकहरू छैनन् l हवाई जहाज मात्रै हैन हवाई मार्ग र विमानस्थल पनि केन्द्र र राजधानीमा सीमित छन् l त्यसमाथि कोभिडका कारणले धेरै देशहरूले हवाई र स्थल मार्गलाई केही समयलाई स्थगित गरेका छन् l कति अल्पविकसित र अविकसित देशहरुसगँ औषधी निर्माता देशहरूको हवाई यात्रा सम्झौता छैनन् र एक अर्कामा जहाजहरू उड्दैनन् l जसले गर्दा खोप र खोपका साधनहरूलाई निर्धन मुलुकहरूमा पठाउन कठिन हुने देखिन्छ l यसमा सबैभन्दा ठुलो समस्या यी खोपहरूलाई अति चिसो बस्तुमा राखिनु पर्छ l कति जहाजमा यसको व्यवस्था नै नहुन सक्छ वा भए पनि साह्रै सीमित l निर्धन मुलुकहरूका स्थल मार्गका सवारी साधनहरूमा अति चिसो स्थानमा भण्डारण गर्ने फ्रिज छ भनेर सोच्नु नै कल्पना बाहिरको कुरा हुनेछ l

नेपालका सवारी साधनहरूमा चिसो बनाएर वस्तु राख्ने त परै जाओस् यात्रीहरू नै पसिनै पसिना भएर यात्रा गर्नु पर्छ र अरू अविकसित मुलुकहरूको हालत यो भन्दा दयनीय छ l त्यसमाथि विमानस्थलको कमजोर व्यवस्थापन, कार्गो क्लियर गर्ने नीतिमा बिथिति, ढिलासुस्ती र विसङ्गतिले ओखतीको दुर्गति हुन्छ l कति निर्धन मुलुकहरूले अति चिसोमा राख्ने वा राखेर स्थानान्तरण, वितरण गर्दा लाग्ने खर्च धान्न सक्ने अवस्था नै हुँदैन l

राज्यले दूर दराजका अस्पताल, स्वास्थ्य केन्द्रमा -९५ डिग्रीमा राख्ने फ्रिजहरू कति होलान्, शायद भएर पनि सीमित अस्पतालमा सानो सङ्ख्यामा होलान् l अमेरिकाकै कति मध्य पश्चिम राज्यहरूमा औषधी चिसो स्थानमा सञ्चित गर्ने साधनको अभाव देखिएको छ भने नेपाल जस्ता अल्पविकसित र अविकसित देशहरूमा पक्कै धेरै छैनन् l भए पनि केन्द्रमा होलान्, राजधानीमा होलान्, सहरमा होलान्, वा सुविधा-सम्पन्न अस्पतालमा मात्रै l बाँकी धेरैमा छैनन्, भएका पनि राम्ररी चल्दैनन्, बिग्रेका छन् l नयाँ किन्ने त परै जाओस् बिग्रेको मर्मत गर्ने बजेट हुँदैन वा किन्नु वा बनाउनु परेमा कमिसनको कुराले झन् बिग्रिन्छ l त्यसमाथि विभिन्न खोप निर्माताहरुले चिसो भण्डारण गर्न आवश्यक पर्ने चिसो मापनको डिग्रीलाई फरक फरक दिएका छन् जसले गर्दा कस्ता कस्ता फ्रिज ल्याउने, कति ल्याउने, कहाँ पाउने र कहाँ राख्ने समस्या थपिनेछ l फेरि मेडोर्ना, फाइजर, जन्सन एन्ड जन्सन वा एस्ट्राजनिकाको खोप सञ्चित गर्नुपर्ने दिन, डिग्री, समय र विधि फरक फरक छन् l जसका कारण भण्डारणमा समय र खर्च बढ्ने देखिन्छ जुन निर्धन मुलुकहरूको लागि थप समस्या बनेर आउने देखिन्छ l

धेरै विपन्न देशहरूमा स्वास्थ्य केन्द्रहरूको हबिगत हेर्दा हुर्मत छ l कतिमा आवश्यक पूर्वाधार तयार नभै सञ्चालन गर्न दिएको छ l राजनैतिक पहुँच, पारिवारिक प्रभाव र कानुन विपरीत दबाबका कारण अस्पताल, स्वास्थ्य केन्द्रलाई सिर्फ नाम मात्रै दिइएको छ भौतिक पूर्वाधारहरू कति निर्माण नै गरिएको छैन, कति कमजोर छन् कति काम नलाग्ने छन् l भ्याक्सिनसँगै त्यसलाई आवश्यक पर्ने सिरिन्ज, सुई र अल्कोहल स्वावको खाँचो पर्छ र त्यसका लागि छुट्टै खरिद गर्नुपर्छ l

संक्रमण सुरुवाती समयमा मान्छेलाई रोगका बारेमा चेतना जगाउन समय लाग्यो, अब औषधी, खोपका बारेमा सूचना र सचेतना जगाउनु पर्छ l हरेक खोपहरूको खोज, आविष्कार, विकास, निर्माण र उत्पादन गर्न बर्षऔँ लाग्थ्यो यो कोभिडको खोप ९ महिनामै बजारमा आएको छ अतः प्रथमतः यसबारेमा जनतालाई जानकारी दिनु पर्छ र खोप लगाउन उत्प्रेरणा जगाउनु पर्छ l निर्धन मुलुकहरूमा शिक्षाको अभाव छ, पुराना रुढीवादी परम्परा छ, औषधी वा खोप लिने भन्दा पनि धार्मिक विधिमा विश्वास गर्छन् अतः पहिलो डोज लगाउन जनतालाई जागरूक बनाउने प्रथम दायित्व छ l कति कहाँदेखि कति समय निकालेर पहिलो खोप लगाउन केन्द्र वा बजार, वा सहरमा आएका हुन्छन् फेरि दोस्रो खोप लगाउन उनीहरूलाई सम्झाउनु पर्‍यो, बुझाउनु पर्‍यो, सुझाउनु पर्‍यो र दोस्रो डोज लगाउनु पर्‍यो l यसका लागि अर्को महाभारत लडाइ लड्नु पर्छ l दोस्रो खोप लगाउन नआए कहाँ खोज्न जानु राज्यले अर्को बोझ थपिने ठान्नेछन् l

केही धर्मावलम्बीहरू खोप ओखतीमा विश्वास गर्दैनन् l भगवानमा भरोसा गर्छन् l झन्डै एक चौथाइ भन्दा मान्छेहरू अझै खोप नलगाउने अड्डी लिएर बसेका छन् l नेपाल र नेपाल जस्ता मुलुकका जनताहरूमा एउटा ट्याब्लेट वा एउटा खोपले वा एक बिर्को झोलले बिराम निको भयो भने डक्टरले तोकिएको दिनसम्म र तोकिएको परिणामको सबै औषधी खाने वा खोप लिने प्रचलन छैन l यसमा नागरिकहरू एक खर्च बढ्ने अनुमान गर्छन् दुई बचेको औषधी अर्कोपल्टलाई सञ्चित गर्छन् वा परिवारका अरूलाई खुवाउँछन् l अतः कोभिडको अर्को डोज लिनलाई मुलुकवासीलाई उत्प्रेरित मात्रै हैन बाध्य बनाउनु पर्ने आबश्यक्ता छ जुन एक कठिन कार्य हो l 

लाखौँ जनतालाई खोप लगाउन नर्स वा मेडिकल सहयोगी वा मेडिकल प्रोफेसनलहरूको अभाव हुने देखिन्छ l पहिलो त अल्पविकसित र अविकसित मुलुकहरूमा मेडिकल प्रोफेसनलहरू नै पाउन गाह्रो पर्छ l पाए पनि सरकारी तलब सुविधा न्यून छ l भर्नाको लागि आवेदन खोल्नु पर्‍यो, भर्ना गरेपछि तालिम दिन पर्‍यो र केन्द्रदेखि दुरदराजसम्म काममा खटाउनु पर्‍यो l जसले गर्दा कोभिड खोप सर्वसाधारणको पहुँचका पुर्‍याउन निक्कै मेहनत गर्नुपर्छ l मान्छे नौ महिनामा जन्मिन्छन् यो खोप नौ महिनामा नै जन्मिएको छ लाग्छ यो शुभ हो l मेरी श्रीमती नर्स प्रमीला सुबेदीले अमेरिकाको टेक्ससमा क्रिसमसको पूर्व सन्ध्यामा लगाएको यो कोभिडको खोप मेरी आमाले नेपालको काठमाडौँमा दशै पूर्व लाउनेछिन् भनेर होप गर्छु l मेरा कान्छा काकाले मदनपुर झापामा त्यस बेला नै लाउनु हुनेछ भन्ने सोच राख्छु l

प्रतिक्रिया