पर्यटकीय नगरीमा विस्तारै पर्यटकीय गतिविधिलाई जोड दिन थालिएको छ । कोरोना (कोभिड–१९) का कारण गत चैतदेखि सुस्ताएको पर्यटनलाई गति दिन पोखराका पर्यटकस्तरीय होटलले ५० प्रतिशत छुट दिने निर्णयसहित आन्तरिक पर्यटकलाई निम्तो दिएका हुन् ।
रेष्टुराँ एण्ड बार एशोसिएशनले (रेवान) पोखराले अङ्ग्रेजी वर्षको अवसरमा गर्दै आएको सडक महोत्सवलाई समेत लक्षित गरेर पश्चिमाञ्चल होटल सङ्घले ५० प्रतिशत छुटको व्यवस्था गरेको सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ‘जाऊँ है पोखरा’ कार्यक्रममार्फत पूर्वी नेपालको वीरगञ्ज विराटनगर र जनकपुरमा पुगेर सो ठाउँका पर्यटन व्यवसायी, सरोकारवाला एवं सञ्चारकर्मीसँग अन्तक्र्रिया गरेको उहाँले जानकारी दिनुभयो ।
तुलाचनका अनुसार पोखरामा ७०० पर्यटकस्तरका होटल छन् भने ४०० सङ्घमा आबद्ध छन् । पर्यटन चलायमानका लागि सहकार्य खोज्दै नेपाल एशोसिएशन टुर एण्ड ट्राभल्स एजेन्ड (नाट्टा) तनहुँ, गोरखा र नेपाल पर्यटक यातायात व्यवसायी (एनटिभीए) ले हालै पाल्पा, नवलपरासी, तनहुँका विभिन्न धार्मिक र ती क्षेत्रका पर्यटन व्यवसायी तथा सरोकारवालासँग अन्तक्र्रिया गरेर फर्किसकेका छन् ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले व्यवसायी स्वयं जुर्मुराएर अघि बढ्न खोजेको अवस्थामा राज्यले थप सहजीकरण गरेर व्यवसायीलाई राहत दिनुपर्ने बताउनुभयो । राज्यले व्यवसाय सञ्चालन कोषमा छुट्टाएको ५० अर्ब रकमलाई अबिलम्व कार्यान्वयन गरेर व्यवसायीलाई जीवन्त राख्न पहल गर्नुपर्ने उहाँको भनाइ छ ।