काठमाडौँ, नेपालमा कोरोनाविरुद्वको लडाइँमा अनुकरणीय काम गर्ने सर्वसाधारणहरूको कथामा ‘सिभिल सोल्जर्स’ डकुमेन्ट्री फिल्म बनेको छ ।
‘भाग्यले बाँचेकाहरू’ र ‘सहायक श्रीमान्’ जस्ता बहुचर्चित डकुमेन्ट्री फिल्म निर्माण गरिसकेका निर्देशक गणेश पाण्डेले कोरोना हिरोहरूको कथालाई लिएर ‘सिभिल सोल्जर्स’ बनाएका हुन् । ‘सिभिल सोल्जर्स’ को कार्यकारी निर्माता तथा लेखक पनि उनी आफै रहेका छन् ।
नेपालमा आकस्मिक रूपमा भएको लकडाउन र त्यसपछि उत्पन्न परिस्थितिले सिर्जना गरेको असहज अवस्थामा पनि अनुकरणीय काम गरेका युवाहरूको कथामा ‘सिभिल सोल्जर्स’ केन्द्रित रहेको निर्देशक तथा कार्यकारी निर्माता पाण्डेले जानकारी दिए ।
यो वृत्तचित्र फिल्म आगामी बिहीबारदेखि काठमाडौँमा सुरु हुने काठमाडौँ अन्तर्राष्ट्रिय माउन्टेन फिल्म महोत्सव (किम्फ)मा रिलिज हुँदैछ । लकडाउनका बेला मानिसहरू घरमा थुनिएर बस्नुपरेका बेला निर्देशक पाण्डे र उनको टिम यो डकुमेन्ट्री बनाउन व्यस्त थियो । यसलाई पुकार तिमिल्सिना र अविनाश लामाले क्यामरामा कैद गरेका छन् ।
काठमाडौँका रैथाने मनोजकुमार श्रेष्ठले ३७ वर्षको उमेरमा यस्तो सुनसान र पीडादायी परिस्थिति कहिल्यै पनि देखेका थिएनन् । एम्बुलेन्सले बिरामी बोक्न नमान्ने अनि मान्छे देखेर मान्छे तर्सिने परिस्थिति देखेपछि मनोज निजी कारलाई एम्बुलेन्स बनाउँदै सर्वसाधारण बिरामीहरूको सेवामा निस्किए ।
अरूको सेवा गर्दागर्दै उनी कोरोना संक्रमित भए । कोरोनाको रिपोर्ट पोजेटिभ आए पछि उनी आफै दङ्ग परे, कुनै लक्षण नदेखिएकाले फाइल साटियो कि भन्ने आशङ्का समेत गरे ।
गर्भवती श्रीमतीलाई घरमै छाडेर आइलोशनमा जाँदा उनले भोगेका पीडादायक क्षण अनि कोरोना जितेर फर्केपछिको उनको भोगाइ यो डकुमेन्ट्री फिल्ममा कैद गरिएको छ ।
यसै गरी, भक्तपुरकै अरुण सैंजु र राजेश गाइँजु लकडाउनकै दिनदेखि भक्तपुर अस्पतालमा रहेर कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिएका थिए ।
सरकारको आग्रहमा अरुण र राजेशले नेपालको पहिलो कोरोना संक्रमितको शव उठाएका थिए । नेपालको पहिलो मृत महिलाको शव जलाएर फर्केपछि अरुणले टोलवासीबाटै अपमानित हुनुपरेको थियो ।
जीवनमा पहिलो पटक लास छुँदा डराएका राजेशले अरुणसँग मिलेर थुप्रै शवको व्यवस्थापन गरिसकेका छन् । अहिलेसम्म ३४ भन्दा बढीको शव व्यवस्थापन गरिसकेका उनीहरूको प्रेरणादायी कथा, जङ्गलको उकुसमुकसपूर्ण एवं कहालीलाग्दो आइशोलेशन बसाइँ र समाजले गरेको व्यवहारलाई फिल्ममा समेटिएको छ ।
‘समग्रमा कोरोनाका कारण नेपाली जीवनमा पारेको असर र त्यति बेला स्वतःस्फूर्त सर्वसाधारणको सेवामा निस्केका स्वयंसेवी युवाहरूको विभिन्न अनुभव, खुसी, पीडा र उत्प्रेरणाको मिश्रणलाई सिभिल सोल्जर्समा देख्न सकिन्छ,’ निर्देशक पाण्डे भन्छन्, ‘सेना, प्रहरी र सरकारी चिकित्सकहरूको यस्ता सङ्कटमा काम गर्ने आफ्नो दायित्व थियो । मान्छे देखेर मान्छे डराउनुपर्ने परिस्थितिमा केही युवाहरूले अनुकरणीय कार्य गरे, त्यसैलाई हामीले क्यामेरामा कैद गरेका हौँ । आगामी पुस्ताका लागि यो ऐतिहासिक दस्ताबेज हुने हामीले विश्वास लिएका छौँ ।’
साइन मिडिया प्राइभेट लिमिटेडको प्रस्तुति रहेको ‘सिभिल सोल्जर्स’को शारदा गैरे निर्मात्री रहेकी छिन् भने ईश्वर कोइरालाले दृश्य सम्पादन गरेका छन् । आशिष् चित्रकारको सङ्गीत रहेको ‘सिभिल सोल्जर्स’लाई योगेश पोखरेल, बिन्देश दाहाल र शिवप्रसाद उप्रेतीले भाषा अनुवाद गरेका छन् ।