जीवन विज्ञान प्रतिष्ठान नेपालले पहिलो पटक नेपाल बाहिर आफ्नो दोस्रो केन्द्रीय कार्यालय अमेरिकामा स्थापना गरेको छ । जीवन विज्ञान प्रतिष्ठान नेपालका संस्थापक द्वय रमेश नेपाल र एल पी भानु शर्माबाट जीवन विज्ञान दोस्रो केन्द्रीय कार्यालय अमेरिकाको समुद्घाटन यही नोभेम्बर २६ तारिखमा श्रद्धेय सद्गुरुवर रमेश नेपाललाई परमप्रकाश प्राप्त भएको शुभ दिनको अवसरमा जुमबाट गरिने भएको छ ।
गत सेप्टेम्बर २२ मा अमेरिकाको भर्जिनियामा दर्ता भएको जीवन विज्ञान दोस्रो केन्द्रीय कार्यालयको सञ्चालनका लागि जीवन विज्ञानका संस्थापक द्वय श्रद्धेय सद्गुरुवरद्वय रमेश नेपाल तथा एल पी भानु शर्माको समुपस्थितमा यही नोभेम्बर १९ मा शिव लामिछानेको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति तथा छ सदस्यीय सल्लाहकार समिति गठन भएको छ । कार्यसमितिका अन्य सदस्यहरू विभिन्न विभागका संयोजकका रूपमा रहने व्यवस्था गरिएको छ । विभागीय संयोजकहरूमा मधु पन्थी, कमला खरेल, डा कल्पना सत्याल, ददि ढुङ्गाना, परशुराम भण्डारी, रोम ज्ञवाली, पुरु सुवेदी, रमेश ढकाल, सुनिता सुवेदी, सुभद्रा पराजुली रहनुभएको छ । सल्लाहकारहरूमा गोविन्द मैनाली, निर्मला के.सी, गीता मैनाली, माला महत, गोपाल रेग्मी र तिलक खरेल रहनुभएको छ ।
समुद्घाटनपछि सो समारोह श्रद्धेय सद्गुरुवर रमेश नेपालज्यूलाई परमप्रकाश प्राप्त भएको दिन अर्थात् प्रकाश दिवस समारोहमा रूपान्तरण हुनेछ । करिब एक हजार जनालाई जुममा सहभागी गराएर गर्न लागिएको समुद्घाटन तथा प्रकाश दिवस समारोह यही नोभेम्बर २६ तारिख अमेरिकी पूर्व समयअनुसार बेलुका ८ बजे सुरु भई सबा एक घण्टाका लागि सञ्चालन हुनेछ । नेपाली समयअनुसार यो नोभेम्बर २७ तारिख शुक्रवार बिहान ६ः४५ मा सुरु हुनेछ । यस समारोहलाई इनेपलिज, बिआरटी नेपाल डट कम तथा जीवन विज्ञानको फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।
कोभिड १९ को महामारीको अवस्थामा नेपाली समुदायलाई लक्षित गरी नेपाली अमेरिकन सामुदायिक केन्द्रको आयोजनामा जुलाई महिनादेखि निरन्तर भइरहेको सामुदायिक कल्याण कार्यक्रमअन्तर्गत गत अगस्ट १ मा जीवन विज्ञानका संस्थापक सद्गुरुवर रमेश नेपालले समग्र कल्याण र स्वास्थ्य विषयमा स्ववाणी प्रस्तुत गर्नुभएपछि जीवन विज्ञानले संस्थागत रूपमा पहिलो पटक नेपालबाहिर आफ्नो निश्चित पाठ्यक्रममा साधनासत्रहरु सुरु गर्न थालेको हो ।
सुख, शान्ति र समृद्धिको स्रोत आफैँभित्र छ र त्यसको उजागर गर्दै भौतिक समृद्धि र आत्मिक शान्ति हरेक व्यक्तिले योग, प्राणायामको बाटोबाट ध्यानमा पुगेर मात्र प्राप्त गर्न सक्छ भन्ने प्रयोगपरक दर्शन विगत १० वर्षदेखि जीवन विज्ञान प्रतिष्ठान नेपालले नेपाली जनमानसमा विस्तार गर्दै आएको छ । जीवन विज्ञान दोस्रो केन्द्रीय कार्यालय अमेरिकाले जीवन विज्ञानका प्रवर्तक सद्गुरुवरद्वय एल पी भानु शर्मा र रमेश नेपालको दर्शनलाई नेपाल बाहिरका गैह्रनेपालीभाषी समुदायमा विस्तार गर्ने लक्ष्य राखेको छ । संसारका सबै मानिसका लागि अहिलेको अशान्त र अवसादपूर्ण अवस्थामा ध्यानको साधनाबाट मात्र जीवन ऊर्जा प्राप्त हुने हुँदा यसका लागि जीवन विज्ञानको प्रयोग अन्तर्राष्ट्रिय जगतमा पुर्याउनु आवश्यक उपयुक्त र सहज देखिएकाले यसको विस्तारका लागि अमेरिकामा यसको स्थापना भएको जीवन विज्ञानले जनाएको छ ।
गत सेप्टेम्बर १५ देखि भर्जिनियामा पहिलो समूहको नौ दिने स्वसंवाद साधना सुरु भएपछि अहिलेसम्म अमेरिकामा ८ वटा साधनासत्रहरु नेपाल र भुटानबाट अमेरिका आएका नेपाली समुदायमा सञ्चालन भइसकेका छन् भने यही नोभेम्बर २१ देखि बेलायतमा नौदिने स्वसंवाद साधना सञ्चालन भइरहेको छ । सद्गुरुवरद्वयको समुपस्थितमा हुने यी साधना सत्रबाट आफूलाई शारीरिक र मानसिक समस्याहरूको समाधान भएको कुरा विभिन्न समूहमा साधनामा सहभागी व्यक्तिहरूले बताएका छन् ।
अमेरिका र विश्वका अरू देशमा हुने सबै प्रकारका साधनाहरूका लागि समुचित व्यवस्था मिलाउनुका साथै नेपालीका अतिरिक्त अङ्ग्रेजी हुँदै अन्य भाषामा प्रशिक्षकहरू तयार गर्दै जाने, जीवन विज्ञानका साधनामा आधारित पुस्तकहरू विभिन्न भाषामा तयार गर्ने र अमेरिकामा विश्वकै एक उत्कृष्ट ध्यान केन्द्र स्थापना गर्ने दीर्घकालीन लक्ष्य जीवन विज्ञान दोस्रो केन्द्रीय कार्यालयले लिएको छ ।