नेपालमा पछिल्ला केही दिनयता कोरोना संक्रमण जित्नेको संख्या निकै बढेको देखिएको छ । परीक्षण गराउनेको संख्यामा कमी आएका कारण संक्रमण जित्नेको संख्या ९० प्रतिशतमाथिसम्म पनि पुगेको छ भने संक्रिय संक्रमितको संख्या घट्दै गएको छ । मंसिर १ गतेदेखि ७ गतेसम्म ५० हजार ९९६ जनामा ‘पीसीआर’ परीक्षण गरिएकोमा१२ हजार २६९ जनामा संक्रमण देखिएको थियो ।
सात दिनमा भएको परीक्षणको अनुपातमा २४ प्रतिशतमा संक्रमण देखिएको हो । दैनिक १८ हजारसम्म हुने परीक्षणको दर हाल आठ हजारमा झरेका कारण संक्रमितको संख्यामा कमी देखिएको छ । पछिल्ला केही दिनयता दैनिकरुपमा पीसीआर परीक्षण कम भएता पनि परीक्षण भएकामध्ये झन्डै २५ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार १० प्रतिशतभन्दा बढी संक्रमण देखिएको अवस्थामा त्यहाँ परीक्षण न्यून भएको रुपमा लिने गरिएको छ ।
यस्तै, पछिल्लो सात दिनयतामात्र २५ हजार ५९४ जनाले कोरोना संक्रमण जितेका छन् । जसमा सबैभन्दा धेरै मंसिर ७ गते पाँच हजार ६९९ जना र मंसिर ५ गते पाँच हजार ३६४ जना संक्रमणमुक्त भएका थिए । कोरोनामुक्त हुनेको यो संख्या नेपालमा कोरोना संक्रमण देखिएको ८ महिनायता कै उच्च थियो ।
सामान्यतया १४ दिनसम्म ‘आइसोलेसन’मा बस्ने हो भने कोरोना संक्रमणमुक्त हुने चिकित्सकहरु बताउँछन् । मानिसको शरीरमा ९ दिनसम्म भाइरस सक्रिय नै रहने विज्ञहरुको भनाइ छ । तर, पछिल्ला दिनमा ९÷१० दिनपछि नै संक्रमणमुक्त भएको भनेर डिस्चार्ज दिने वा परीक्षण नै नगराउनेहरुको संख्यासमेत बढेका कारण पनि निको हुनेहरुको संख्या बढेको बताइएको छ ।
