अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०० | Colorodo: 01:15

नेकपा सचिवालय बैठक– अध्यक्ष ओलीले छुट्टै राजनीतिक प्रतिवेदन ल्याउने, १० दिनका लागि बैठक स्थगित

बिआरटीनेपाल २०७७ मंसिर ३ गते ५:४९ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पार्टीभित्र देखिएको विवादका बारेमा छलफल भएको बताईएको छ । बैठकमा प्रधानमन्त्री ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेस गर्ने जानकारी दिनुभएको छ । उहाँले अलग्गै प्रतिवेदन ल्याउने भएकाले बैठक १० दिनका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

अर्को बैठक मंसिर १३ गते बस्ने र त्यही दुबै अध्यक्षका प्रतिवेदनमाथि छलफल गरिने भएको हो । बैठकले आगमी १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय पनि गरेको छ । अर्को बैठक दश दिनपछि बस्नेगरी सकिएको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सञ्चारमाध्यमलाई जानकारी दिनुभएको छ ।

बुधबारको बैठकमा कात्तिक २८ गते बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रतिवेदनमाथि सामान्य चर्चा भएको छ । प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई सही दिशा दिन नसकेको भन्दै गम्भीर आरोप लगाएपछि प्रधानमन्त्री ओली बुधबारको बैठकमा भाग नै नलिने अडानमा रहेपनि पछि बैठकमा सहभागि हुनुभएको थियो ।

ओलीले नेताहरुसँग प्रचण्डले लगाएका आरोप बेतूकको रहेको भन्दै जवाफ नदिने बताउँदै आउनुभएको छ ।सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जानुभएको थियो । त्यसअघि हिजो पनि उहाँले राष्ट्रपतिसँग भेट गर्नुभएको थियो ।

मंगलबार राति नै ओलीसँग नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले पनि भेटवार्ता गर्नुभएको थियो । मंगलबार नै प्रचण्डले पनि राष्ट्रपति विद्या भण्डारीसँग भेट गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय