विश्व बैंकले नेपाललाई ४२ अर्ब रुपैयाँ बराबर सहयोग गर्ने भएको छ ।नेपालको सहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणका लागि विश्व बैंक र सरकारबीच ४२ अर्ब रुपैयाँ बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर भएको हो ।नेपालको ‘सहरी विकास र पूर्वाधार आयोजना’ र ‘आर्थिक वृद्धिका लागि वित्त’ विकास नीति सहायतासम्बन्धी दुईओटा सम्झौतामा विश्व बैंक र अर्थ मन्त्रालयबीच बुधबार सम्झौता भएको हो ।
सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थसचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गर्नुभएको हो ।उक्त सहायताअन्तर्गत् १५ करोड अमेरिकी डलर अर्थात् करिब १८ अर्ब रुपैयाँ बराबरको रकम विभिन्न ३३ ओटा नगरपालिकाहरुको सहरी विकास र पूर्वाधार आयोजनामा खर्च हुनेछ ।
सो रकम पूर्वी तराई क्षेत्रमा प्रदेश नम्बर–१ र प्रदेश–२ का र पश्चिमी क्षेत्रमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका नगरपालिकाहरुमा खर्च गरिने अर्थ मन्त्रालयका सचिव शिशिर ढुंगानाले बताउनुभयो ।यस्तै, नेपालको वित्तीय क्षेत्रको स्थिरतालाई सुदृढ बनाउन, वित्तीय समाधानका लागि उपकरणहरुमा विविधता ल्याउन र वित्तीय सेवाहरुको पहुँचमा वृद्धि गर्नका लागि विश्व बैंकले २० करोड अमेरिकी डलर अर्थात् करिब २४ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग पनि गरेको छ ।
विश्व बैंकको यो सहयोगले नेपालमा सहरी विकासको सुदृढीकरण, सहरी गुणस्तर विकास र वित्तीय क्षेत्रको स्थिरतामा सुधार पुर्याउन सहयोग पुग्ने अर्थसचिव ढुंगानाले बताउनुभयो ।दुवै आयोजनाले नेपालमा संघीयता कार्यान्वयन र वित्तीय सुधारको विषयलाई टेवा दिँदै सरकारको कोभिड–१९ पश्चातको आर्थिक पुनरुत्थानको प्रयासमा योगदान पु¥याउने विश्वास गरिएको छ ।
विश्व बैंकका निर्देशक जर्भोसले राहत, पुनरुत्थान र उत्थानशील आयोजना कार्यान्वयनका लागि नेपाल सरकारको प्रयासमा विश्व बैंकले सधैं सहयोग पुर्याउँदै आएको बताउनुभयो ।