नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गर्ने प्रतिबद्धता भए पार्टीभित्र देखिएको समस्या समाधान हुने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेपछि पत्रकारहरुसँग कुराकानी गर्दै वरिष्ठ नेता नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गरे समस्याको समाधान आफैं हुने बताउनुभएको हो ।
त्यसका लागि पार्टी कमिटीको बैठक निरन्तर राखी छलफल, बहस र वादविवाद गर्नुपर्ने उहाँले बताउनुभयो । बहसबाट भाग्ने, बैठकबाट भाग्ने र कमिटी प्रणालीबाट भाग्ने भएमा समस्याको समाधान हुन नसक्ने पनि वरिष्ठ नेता नेपालले बताउनुभयो ।
पार्टीलाई एकताबद्ध भएर अगाडि बढाउन सबै नेता–कार्यकर्ता अनुशासनमा बाँधिनुपर्ने पनि वरिष्ठ नेता नेपालको भनाई थियो । पार्टीको अनुशासनमा बाँधिने, आ–आफ्नो ठाउँबाट सशक्त र प्रभावकारी भूमिका खेल्ने र कमी–कमजोरीहरुलाई सुधारेमा कम्युनिस्ट आन्दोलन र पार्टी एकतालाई बचाउन सकिने उहाँले बताउनुभयो ।
