महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाण्डौंले ट्राफिक सचेतनाका लागि ‘सांगीतिक डमी अभियान’ सुरु गरेको छ । सर्वसाधारणलाई ट्राफिक नियमसम्बन्धी जनचेतना फैलाउन काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट ‘सांगीतिक डमी अभियान’ सुरु भएको हो ।उपत्यकाका विभिन्न चोकमा राखिएको डमीमा ट्राफिक नियमसम्बन्धी विभिन्न गीतहरु बजाएर ट्राफिक नियमकोबारेमा जानकारी दिइनेछ ।
ट्राफिक नियमबारे नागरिकलाई सुसूचित गर्ने र नियमको पालना भए दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने महाशाखाका प्रमुख एसएसपी भीम ढकालले बताउनुभयो ।विश्वका अन्य देशहरुमा जस्तो विद्यालय शिक्षामा ट्राफिक नियमसम्बन्धी पाठ्यक्रम नसमेटिएको अवस्थामा ट्राफिक प्रहरीले आफ्नो पहलमा विभिन्न कार्यक्रम गर्दै सचेतना फैलाइरहेको उहाँले बताउनुभयो ।
पहिलो चरणमा काठमाडौं उपत्यकामा पाँच स्थानहरु रत्नपार्क, कोटेश्वर, कलंकी, नयाँ बानेश्वर र नयाँ बसपार्कमा सांगीतिक डमी अभियानको शुभारम्भ गरिएको छ ।अभियानबाट प्रतिदिन तीन हजार र एक महिनामा तीन लाखलाई ट्राफिक नियमसम्बन्धी सचेतना जगाउने लक्ष्य ट्राफिक प्रहरीले लिएको छ ।
अहिले एकजना ट्राफिक प्रहरीले प्रतिदिन ११ सय सवारी हेर्नुपर्ने बाध्यता रहेको छ । करिब १२ लाख सवारी रहेको उपत्यकामा ट्राफिक व्यवस्थापनका लागि १५ सय ट्राफिक प्रहरी कार्यरत् रहेका छन् । केही समयअघि जनचेतनामूलक सन्देशसहित ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न ठाउँमा ट्राफिक डमी राखिएको थियो । त्यो अभियानले सकारात्मक सन्देश दिएको ट्राफिक प्रहरीको भनाइ छ ।
