अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०८ | Colorodo: 06:23

नेकपा सचिवालय बैठक बोलाउन ५ सचिवालय सदस्यद्धारा अध्यक्ष ओलीलाई लिखित पत्र

बिआरटीनेपाल २०७७ कार्तिक २२ गते ६:०५ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ५ सचिवालय सदस्यले सचिवालय बैठक बोलाउन माग गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र बुझाउनुभएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर सचिवालय बैठक आह्वानका लागि लिखित अनुरोध गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

अध्यक्ष प्रचण्ड सहित झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र श्रेष्ठले तत्काल बैठक बोलाउन लिखित माग गरेको उहाँले बताउनुभयो । अध्यक्ष ओलीलाई बुझाईएको पत्रमा सकभर आईतबार नभए सेमबारसम्म बैठक बसेर गम्भीरतापूर्वक छलफल गर्ने र पार्टीलाई एकताबद्ध बनाउने, विधि र पद्धतिका आधारमा पार्टी सञ्चालन गर्ने, पार्टीको निर्णय सबैले कार्यान्वयन गर्ने दिशातिर जाने गरी निष्कर्ष निकाल्न अनुरोध गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

कोभिड–१९ ले पैदा गरेको स्वास्थ्य संकट, जनतामा देखापरेको समस्या, आर्थिक संकटलगायतका विषयमा छलफल गर्न बैठकको माग गरिएको उहाको भनाई छ । यस्तै, स्थायी कमिटी बैठकले गरेका निर्णयको कार्यान्वयन अगाडि बढ्न नसकेको अवस्थाको समीक्षा र पार्टीमा उत्पन्न संकटको सम्बन्धमा छलफल गर्दै पार्टी एकताको रक्षा गर्न पनि बैठक आवश्यक रहेको श्रेष्ठले बताउनुभयो ।

कार्यकारी अध्यक्ष प्रचण्डले पटक–पटक बैठकका लागि आह्वान गर्दा पनि बस्न नसकेको अवस्थालाई मध्यनजर गर्दै शनिबार लिखित अनुरोध गरिएको श्रेष्ठको भनाइ छ । बैठक बस्ने बारेमा भने ओलीले कुनै आश्वासन नदिएको बताईएको छ । यसअघि, आज बिहान कार्यकारी अध्यक्ष प्रचण्ड सहितका सचिवालय सदस्यहरुको बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय