अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३० | Colorodo: 16:45

चीनमा नेपालका बिओके र हिमालयन बैंकले मुद्धा जिते, १ अर्ब ४० करोड स्वदेश भित्रने

बिआरटीनेपाल २०७७ कार्तिक २१ गते ६:५० मा प्रकाशित

नेपालको दुई बैंकले चीनमा एउटा मुद्दा जितेपछि १ अर्ब ४० करोड रुपैयाँ स्वदेश भित्रिने भएको छ । बैंक अफ काठमाण्डु (बिओके) र हिमालयन बैंकको काउन्टर ग्यारेन्टीवापत फसेको रकम फिर्ता गर्नुपर्नेगरी हेनान प्रान्तको झेङझाओ इन्टरमिडियट कोर्टले आदेश दिएको हो । अदालतको आदेशपछि १ अर्ब ४० करोड रुपैयाँ चाइना कन्स्ट्रक्सन बैंकबाट फिर्ता पाउने भएका छन् ।बैंकका पक्षमा फैसला आएसँगै रकम फिर्ता पठाउनका लागि आजै चाइना कन्स्ट्रक्सन बैंकलाई पत्राचार गर्ने दुवै बैंकको तयारी छ ।

मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा ठेकेदार कम्पनी चाइना रेल्वे कम्पनीले चाइना कन्स्ट्रक्सन बैंकमार्फत नेपालमा हिमालयन तथा बिओकेबाट ग्यारेन्टी रकम प्राप्त गरेको थियो ।बीचमा ठेकेदार कम्पनीले काम छोडेपछि नेपाली बैंकहरुले कम्पनीलाई प्रदान गरिसकेको रकम निस्क्रिय रहँदै आएको थियो ।

बिओकेले ६६ लाख २५ हजार १० अमेरिकी डलर (७८ करोड ८३ लाख) को ग्यारेन्टी रकम प्रदान गरेको थियो । त्यस्तै हिमालयन बैंकको करिब ६२ करोड रुपैयाँ फसेको थियो । मेलम्चीको काम छाडेपछि ठेकेदार कम्पनीले नेपालका बैंकहरुले फ्रड गरेको भन्दै यहीं झेङझाओ कोर्टमा निवेदन दिएको थियो । अदालतले पनि निवेदककै पक्षमा निर्णय गरेपछि नेपालका बैंकहरु उच्च अदालत गएका थिए । उच्च अदालतले तल्लो अदालतलाई अन्तर्राष्ट्रिय बैंकिङ पद्धति र चिनीयाँ कानुनअनुरुप नदेखिएको भन्दै निर्णयमाथि पुर्नविचार गर्न आदेश दिएको थियो।

गत अगष्टमा यसको सुनुवाई भएको थियो । अब फेरि अदालतको आदेशविपरित हारेको कम्पनी उच्च अदालत जान सक्नेछ । तर उच्च अदालतले नै यसअघि तल्लो अदालतलाई पुनर्विचार गर्न आग्रह गरेकाले अब रकम प्राप्त हुने सम्भावना बलियो रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय