प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरूद्धमा चलखेल भईरहेको भन्दै त्यसलाई निस्तेज पार्ने चेतावनी दिनुभएको छ । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकको सुरूमै आफ्ना धारणा राख्दै प्रधानमन्त्री ओलीले अस्थिरता निम्त्याउने गरी आफुविरुद्ध षडयन्त्र भइरहेको समेत आरोप लगाउनुभयो । प्रधानमन्त्रीले आफूलाई पदबाट हटाउनका लागि विभिन्न चलखेल भइरहेको दाबी गर्नुभएको श्रोतले बताएको छ ।
यसअघि, आज विहान नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी कार्यालय पेरिस डाँडामा कानुन व्यवसायीहरूसँग परामर्श गर्नुभएको थियो । आजको मन्त्रीपरिषद् बैठकमा प्रचण्ड र नेपालले प्रधानमन्त्री ओलीले चाल्नसक्ने सम्भावित कदमका बारेमा छलफल गरेको श्रोतको दाबी छ।
ओलीलाई सत्ताबाट हटाए प्रचण्ड÷नेपालका नजरमा उहाँले गर्न सक्ने दुई विकल्प छन्। रातारात अध्यादेश ल्याएर पार्टी फुटाउन सक्ने पहिलो कदम छ तर अहिलेको कानुनअनुसार कुनै पनि दल फुटाउन संसदीय दल र पार्टी केन्द्रीय समिति दुवैमा कम्तिमा ४० प्रतिशत संख्या चाहिन्छ। ओलीले त्यसलाई अध्यादेशमार्फत् बदलेर संसदीय दलमा मात्रै ४० वा ३० प्रतिशत संख्या भए पनि पार्टी फुटाउन मिल्ने कानुन ल्याउन सक्ने बताईन्छ ।
यसैगरी, संविधानमा प्रावधान नै नभए पनि संसद विघटन गर्न ओलीले राष्ट्रपतिसमक्ष सिफारिस गर्न सक्नुहुनेछ । अदालत सिंग मिलेर त्यो गैरसंवैधानिक कदमविरूद्ध आउन सक्ने मुद्दाहरू पारी आफ्नै नेतृत्वमा ओलीले चुनाव गराउन सक्ने बिश्षेषकहरु बताउँछन् । यसअघि बुधबार मात्रै प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा माग्ने खेल भइरहेको तर आफूले राजीनामा नदिने प्रष्ट पार्नुभएको थियो ।
