अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०३ | Colorodo: 16:18

‘नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि दिनु हुन्न’–माले महासचिव मैनाली

बिआरटीनेपाल २०७७ कार्तिक १८ गते ७:०१ मा प्रकाशित

नेकपा मालेले भारतका सेना प्रमुख मनोजमुकुन्द नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि दिन नहुने बताएको छ । पार्टीका महासचिव सीपी मैनालीले आज विज्ञप्ति जारी गरी मानार्थ महारथी उपाधि दिँदा कालापानी क्षेत्रमा भारतले गरेको नेपाली भूमि अतिक्रमणलाई सामान्य ठानेको सन्देश जाने बताउनुभयो । साथै,उहाँले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र भूअखण्डतालाई अनादर गर्ने भारतका सेनाध्यक्षलाई नेपाली राष्ट्रिय सेनाको ‘मानार्थ महारथी’को पदवीले विभुषित गर्नु उपयुक्त नहुने बताउनुभयो ।

जारी विज्ञप्तीमा दुई देशका सेनाध्यक्षलाई एक अर्काले ‘मानार्थ महारथी’को पदवीले विभुषित गर्ने प्रचलन नै अन्त्य गरिनुपर्ने उल्लेख गरिएको छ । नेकपा मालेले भारतीय सेना प्रमुखको नेपाल भ्रमणको पनि विरोध जनाएको छ । नरवाणेले कालापानीका विषयमा नेपाली जनता र सरकारद्वारा लिइएको अडानलाई ‘अरु कसैको उक्साहटद्वारा गरिएको’ भनी २०७७ सालको जेठ २ गते नयाँ दिल्लीको एक सार्वजनिक कार्यक्रममा बोलेको भन्दै उनलाई स्वागत गर्नु उचित नहुने बताएको हो ।

नेपाललाई लगाएको आरोपलाई फिर्ता नलिइकन स्वागत गर्नु उपयुक्त नहुने महासचिव मैनालीले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय