अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३० | Colorodo: 02:45

डा. एन्थोनी फाउचीलाई चुनावपछि बर्खास्त गर्ने ट्रम्पको संकेत

बिआरटीनेपाल २०७७ कार्तिक १७ गते ६:४३ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वरिष्ठ सरुवा रोग विज्ञ तथा वैज्ञानिक डा. एन्थोनी फाउचीलाई चुनावपछि बर्खास्त गर्न सक्ने संकेत गर्नुभएको छ । फ्लोरिडामा भएको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा ट्रम्पले डा. फाउचीलाई नोभेम्बर ३ को चुनावपछि बर्खास्त गर्न सक्ने बताउनुभएको हो ।

स्थानीय समय अनुसार आइतबार मध्यरातमा भएको चुनावी सभामा समर्थकले ‘फायर फाउची’ (फाउचीलाई बर्खास्त गर) नारा लगाएपछि ट्रम्पले त्यसमा विचार गर्ने बताउनुभयो । उहाँले भन्नुभयोे, ‘कसैलाई नभन्नु होला तर मलाई चुनावपछि मलाई केही समय पर्खिन दिनुस् । सुझावको म सम्मान गर्छु।’

त्यसपछि ट्रम्पले डा. फाउची राम्रो व्यक्ति रहेको तर धेरै पटक गलत भएको बताउनुभयो । फाउचीलाई बर्खास्त गर्नु पर्ने मागसहितको नारा लगाएका ट्रम्पको सभाका अधिकांश सहभागीले मास्क लगाएका थिएनन्। यसअघि राष्ट्रपति कार्यालय ह्वाइट हाउसले देशका प्रमुख सरुवा रोग विज्ञ डा. एन्थोनी फाउचीमाथि चुनावको पूर्व सन्ध्यामा राजनीतिक चलखेल गरेको आरोप लगाएको थियो। द वासिङ्गटन पोस्टसँगको सो अन्तर्वार्तामा डा. फाउचीले अमेरिकालाई महामारीबाट ठूलो चोट लागेको बताउनुभएको थियो ।

उहाँले सो अन्तर्वार्तामा कोरोना भाइरसको महामारीलाई लिएर नोभेम्बर ३ मा हुने चुनावका लागि उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक प्रतिद्वन्द्धी जो बाइडेनको रणनीतिको तुलना पनि गर्नुभएको थियो । पाउचीले राष्ट्रपति ट्रम्प भन्दा स्पष्ट रुपमा पूर्व उपराष्ट्रपति जो बाइडेन महामारीलाई लिएर गम्भीर देखिएको र उहाँका चुनावी कार्यक्रमले पनि त्यसलाई संकेत गर्ने बताउनुभएको थियो ।

जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा कुल संक्रमितको संख्या ९१ लाख ९८ हजार भन्दा धेरै पुगेको छ। त्यहाँ कोभिड–१९ बाट दुई लाख ३० हजार ९ सय भन्दा धेरैको ज्यान गइसकेको छ।

प्रतिक्रिया