अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०४ | Colorodo: 10:19

सत्तारुढ नेकपामा किचलो जारी, प्रधानमन्त्री ओलीनिकट नेताहरू दिनहुँ खुमलटारमा

बिआरटीनेपाल २०७७ कार्तिक १४ गते ६:३८ मा प्रकाशित

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच असमझदारी बढेसँगै सत्तारुढ नेकपामा किचलो बढ्दै गएको छ । पार्टीको निर्णयवेगर प्रधानमन्त्री ओली एकतर्फीरुपमा अगाडि बढेपछि विवाद झनै बढ्दै गएको हो । यद्यपि, सहमतिको प्रयासस्वरुप प्रधानमन्त्री ओलीले आफूनिकट नेताहरूलाई दैनिकजसो खुमलटार पठाउनुभएको छ ।

प्रधानमन्त्री ओली निकटका परराष्ट्र मन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली शुक्रबार खुमालटार जानुभएको छ । प्रचण्डसँगको भेटमा परराष्ट्र मन्त्री ज्ञवालीले दुई अध्यक्ष मिलेर जानु पर्ने सुझाव दिएको स्रोतले बताएको छ । कर्णाली प्रदेश प्रकरण, मन्त्रिपरिषद पुनर्गठन, रअ प्रमुखसँगको भेट, पर्सा घटनालगायतका विषयमा असन्तुष्टि जनाउँदै प्रचण्ड बालुवाटार जानुभएको छैन ।

कात्तिक ३ गतेदेखि प्रधानमन्त्री ओली र प्रचण्डबीच भेट हुन सकेको छैन। मंगलबारदेखि नै प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएको भए पनि प्रचण्ड जान नचाहेको उहाँ निकट श्रोतले जनाएको छ । स्रोतका अनुसार प्रचण्डले २/ ४ दिनपछि मात्रै भेट्ने भनेर जवाफ पठाउनुभएको छ ।

यसअघि बिहिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डलाई भेट्नुभएको थियो । त्यस्तै बुधबार अर्थमन्त्री एवं पार्टी महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डसँग छुट्टाछुट्टै भेट गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय