एउटा बिचारात्मक लेख
केही सातादेखि दसैँको रौनकसँगै एक जना विद्वानको विद्वतामाथि प्रश्न तेर्साउँदै ताली बजाउनेहरूमा पनि रौनक आएको देखिन्छ । धेरैले आफ्नो मेसेन्जरमा मलाई लिङ्क पठाएर जानकारी दिएपछि मैले पढ्ने मौका पाएँ । एकपछि अर्को आक्षेप र त्यसबारे लेखिएका स्पष्टीकरणहरू पनि पढ्दै गएँ । कतिपय मित्रले फोन गरेर सोध्नु पनि भयो र मैले भनेँ आक्षेप लागेको व्यक्तिबाट स्पष्टीकरण आइसकेपछि यो सब उच्चबौद्धिक व्यक्तिप्रति राखिने ईर्ष्या हो ।
हामी नेपालीहरू कसैले तपाईँको कान कागले लग्यो भनेपछि आफ्नो कान नै नछामी कागको पछि दौडने प्रवृत्ति भएका मानिस हौँ । नेपालको नायक लौह पुरुष गणेशमानले नेपाली जनता त भेडा हुन, पुस एक गते पनि बत्ती बाल्छन् र फागुन सात गते पनि बत्ती बाल्छन् त्यसै भनेका हैनन् ।
नेपाललाई एकीकरण गरेर एउटा सिङ्गो हिन्दु राष्ट्र बनाएर नेपाली भाषा र भेषलाई विश्वभरि परिचय दिलाउने वीर योद्धा पृथ्वीनारायण शाहको जन्मदिनमा उनको पोस्टरमा थुक्नेलाई समातेर थुन्नु पर्ने ठाउँमा त्यस्तालाई टेलिभिजनमा ल्याएर अन्तर्वार्ता लिएर चोरलाई झन् साधु बनाउन खोज्छौँ । यस्तो काम गर्नमा हाम्रा पत्रकारहरू अग्र पङ्क्तिमा आउँछन् । यस्तो अवस्थामा राष्ट्रनिर्माताको पक्ष सरकारले बोल्नु पर्ने ठाउँमा होली वाइन पिउँदै सनातन धर्मको विरोधी भएर सत्तापक्षहरू उभिएको पनि देखियो । पश्चिमा संस्कृति र धर्मको प्रत्यक्ष प्रभावबाट लाभान्वित मानिएका नेपालको राजनीतिका उपल्लो तहका नेतृत्वबाट नेपाली भाषासँगै संस्कृतिमाथि अतिक्रमण भइरहेको देख्दा पनि मौन छन् ।
यो प्रसङ्ग प्रा. डा. खगेन्द्रप्रसाद लुइटेलको सन्दर्भमा आएको हो । लुइटेल त्रिवि नेपाली विभागका प्राध्यापक हुन् । उनले सुरुदेखि नै नेपाली भाषाको लागि वकालत गर्दै आएका छन् । त्यसैले भाषालाई बिग्रनुबाट बचाउनका लागि उनले मानक नेपाली भाषा अभियानको नेतृत्व गरे । नेपाली भाषा साहित्यको संरक्षण र सम्वद्र्धन गर्न तत्कालीन राजा महेन्द्रबाट स्थापना भएको प्रज्ञा प्रतिष्ठान २०४६ सालको आन्दोलनपछि राजनीतिको अखडा र कार्यकर्ता भर्ती केन्द्र बन्दै गयो । यही प्रतिष्ठानबाट मानक नेपाली भाषा विपरीत नेपाली शब्दकोश प्रकाशन गरेपछि डा. लुइटेलले यसको विरोधमा मानक नेपाली भाषा अभियान सुरु गरेर नेपाली भाषा प्रेमीहरूलाई ऐक्यबद्धता गराउँदै नेपाली भाषाको व्याकरण विपरीत प्रकाशित उक्त शब्दकोश रद्द गराउन सफल भएपछि उनका विरुद्ध तथाकथित नेपाली भाषा साहित्यका ठेकेदारहरू खनिन थाले ।
डा. लुइटेलले मानक नेपाली भाषाको पक्षमा वकालत गर्दै गए । यसमा उनी एक्लै थिएनन् । उनीसँग समिति नै थियो । समूह नै थियो । उनले नेपाली भाषामा धेरै नै पुस्तकहरू लेखी सकेका थिए । प्रज्ञाले पनि उनको अनुसन्धानात्मक कृतिहरू प्रकाशित गरेको छ । अझ भनौँ उनको उच्चबौद्धिक विद्वताले गर्दा प्रकाशित गर्न बाध्य भएको थियो ।
त्यसपछि उनले नेपालबाट हिन्दुत्व नष्ट गर्न ८० प्रतिशत हिन्दु रहेको र मन्दिरै मन्दिरले भरिएको नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएजस्तै सरकारी निकायबाटै नेपालमा गुड्ने मोटरहरूमा इम्बोस्ड नम्बर प्लेट राख्न चलखेल सुरु भएपछि यसको विरोधमा उनी फेरि ओर्लिए । नेपालको संविधानले सरकारी कामकाजको भाषा नेपाली हुनुपर्छ भनी सकेपछि मोटरमा कसरी अङ्ग्रेजी नम्बर राख्न मिल्छ भनेर विरोध गर्न थाले । यसको विरोधमा डा. लुइटेलले नेपालमा सरकारी कामकाजको भाषा नेपालीमा हुनुपर्छ भन्दा उनीमाथि मुद्दा हालियो । कसले मुद्दा हाल्यो र किन हाल्यो भन्नेबारे कसैले बुझ्न खोजेनन् कसैले यसको विरोधमा बोलेनन् । विरोध गरेनन् । सत्ताको नजिक पुग्ने प्रयास मात्र गरिरहे । नेपाली भाषाको लागि वकालत गर्नेमाथि नेपालमा नै मुद्दा हाल्ने व्यक्तिको के नैतिकता होला । उनलाई व्यक्तिगत रिसइबीमा बदनाम गर्न खोजियो ।
सर्वोच्चले इम्बोस्ड नम्बर प्लेटमा अङ्ग्रेजी प्रयोग गरिनुपर्ने फैसला सुनाउँदा त्यसको एक्लै विरोध गर्ने सामर्थ्य भएका डा. लुइटेललाई सघाउनुको सट्टा हामी उनका विरोधीलाई प्रोत्साहन गर्दै आफ्नै मातृभाषाको विरुद्ध उभियौँ । कसैले वास्तविकता बुझ्न खोजेनन् । नेपाली भाषी नेपालीहरूको देश नेपालमा इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषालाई प्राथमिकताका साथ स्थान दिनु पर्छ भन्दा नेपालकै अदालतको मानहानि भयो भन्दै डा. लुइटेलमाथि मुद्दा हाल्नु कतिको न्यायोचित हो नेपाली भाषा पढेर नेपाली वकिल बनेकालाई नेपाली भाषामा नै सोध्न मन लाग्यो ।
भाषाको सन्दर्भमा बङ्गलादेशको प्रसङ्ग ल्याउन मन लाग्यो । सन् १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्रता पाएर हिन्दुस्तान (भारत) र पाकिस्तान छुट्टिए । हिन्दुहरूको बाहुल्यता रहेको पश्चिम बङ्गाल भारतमा गाभियो भने मुस्लिमहरू बढी बसोबास गर्ने पूर्वी बङ्गाल पाकिस्तानमा गाभियो । पाकिस्तानको सरकारी भाषा उर्दु हो । पूर्वी बङ्गालमा बङ्गाली भाषी बस्ने हुनाले बङ्गाली भाषा त्यहाँको कामकाजी भाषा रहेको थियो । तर सन् १९५२ मा पाकिस्तान सरकारले त्यहाँ पनि उर्दु भाषालाई अनिवार्य कामकाजी भाषा बनाउने घोषणा गरेपछि त्यसको विरोधमा ‘भाषा आन्दोलन’ सुरु भयो । २१ फरबरी, १९५६ मा भाषा आन्दोलनले उग्र रूप लियो । ढाका विश्वविद्यालयका प्राङ्गणमा पाकिस्तानी सैनिकको गोली प्रहारबाट धेरै नै विद्यार्थीहरू मारिए । भाषाका लागि सदाहत पाएका शहीदहरूको सम्झनामा ढाका विश्वविद्यालयको प्राङ्गणमा शहीद मिनर निर्माण गरियो । यहीँ भाषा आन्दोलनले बिस्तारै स्वतन्त्रता आन्दोलनको रूप लिन पुग्यो र अन्ततः सन् १९७१ मा पूर्वी पाकिस्तान नयाँ राष्ट्र बाङ्लादेशको नामबाट विश्व मानचित्रमा देखा पर्यो । बाङ्लादेशको यही २१ फरवरीको भाषा आन्दोलनलाई सन् १९९९ मा संयुक्त राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय भाषा दिवसमा रूपमा मनाउने घोषणा ग¥यो । अनि २१ फरबरीका दिन विश्वभरि भाषा दिवसका रूपमा मनाउन थालियो । बाङ्लादशको भाषा आन्दोलनले हामीलाई भाषाप्रति त्यस भाषीको शक्ति देखाउँछ । त्यसैले भाषा हाम्रो प्राण हो । भाषाको निरन्तरताका लागि हामी एकजुट हुनु पर्छ । यहीँ भाषाको संरक्षणमा डा. लुइटेल लागेको जस्तो लाग्छ ।
म आफैँ पनि नेपाली भाषा साहित्यको विद्यार्थी र प्राध्यापनमा आबद्ध भएको हुनाले डा. लुइटेलभन्दा पहिले मैले लीला लुइटेललाई चिनेको थिएँ । भक्तपुर क्याम्पसमा मैले र लीला लुइटेलले केही समय सँगै प्राध्यापन गरेका हौँ । डा. लुइटेलसँग मेरो भेट वहाँलाई मेरो विद्यावारिधिका लागि शोध निर्देशक राखेपछि मात्र भएको हो ।
हामीले सर्वनामका माध्यमबाट नेपालमा सडक नाटकको थालनी गराएका थियौँ । त्यसपछिका दिनहरूमा खुला मञ्च नाटकमा नै काम गर्दै नेपालबाहिर नाटक प्रदर्शन र सम्मेलनमा सहभागी हुँदै जाँदा खुलामञ्च नाटकका विषयमा अध्ययन गर्ने मौका पाएँ । यसैलाई विषयवस्तु बनाएर विश्व रङ्गमञ्चमा खुलामञ्च नाटकको थालनी र नेपाली नाटकमा डा. मोहन हिमांशु थापाको निर्देशनमा विद्यावारिधि गर्न थालेँ । तीन वर्षसम्म आफ्नो शोध प्रस्तावअनुरूप पाँच अध्यायमा विभाजित शोधपत्रको काम क्यानडाबाटै यहाँको टोरोन्टो विश्वविद्यालयसँग अनुमति पाएर (नाटक विभागका वरिष्ठ प्राध्यापकसँग परामर्श गर्न र पुस्तकालय प्रयोजनका लागि) अध्ययन अनुसन्धान गर्दै वर्षमा एक एक अध्याय गर्दै तीन अध्याय बुझाएको थिएँ । तर तीन वर्षपछि डा. हिमांशु सरले आफू बिरामी भएकोले निर्देशन गर्न असमर्थ भएको भन्दै मैले तीन वर्षदेखि बुझाएको थेसिस नहेरीकन फर्काउनु भयो ।
त्यसपछि मलाई नयाँ गाइड पाउन धेरै नै गाह्रो भयो । अन्त्यमा डा. हिमांशु सरले नै डा. लुइटेललाई भनेपछि मैले डा. लुइटेलको कडापन देख्नु परेको थियो । डा. लुइटेलले फेरि नयाँ शोध प्रस्ताव लेख्न लगाएर त्यसबाट चित्त बुझे मात्र गाइड गर्ने भनेपछि अर्को शोध प्रस्ताव बनाएर दिनु पर्यो । त्यसपछि पनि यो भएन र त्यो भएन भनेर बल्लबल्ल मन्जुरी दिनु भएको थियो । त्यस बेला नै मैले डा. लुइटेलको भाषाप्रतिको लगाव देखेको थिएँ । त्यसपछिका दिनहरूमा उनको भाषाप्रतिको कडाइपन र अनुशासन देखेर मलाई बिचमै छोडौँ जस्तो पनि लागेको थियो । तर उनको सुझाव भने गहकिला हुने गर्थे । उनले नेपाली रङ्गमञ्चको अहिलेसम्म नलेखेको इतिहास र अहिलेसम्म नेपालीमा नलेखिएको विश्व रङ्गमञ्चको इतिहास मलाई लेख्न लगाए । यो नेपालीमा एउटा नौलो कार्य भयो । उहाँले नै यो छाप्नु पर्छ भन्नु भयो र रत्न पुस्तक भण्डारबाट छापियो ।
अहिले डा. लुइटेलको मानमर्दन गर्नका लागि उनीमाथि प्रायोजित रूपमा बौद्धिक चोरीको आरोप लगाइयो । एउटा अनलाइन पत्रिकाले कसैले जे लेखेर दियो त्यही छापी दियो । कसैको ईर्ष्याको बमनले बौद्धिक जगतको ध्यानाकर्षण गर्न खोज्यो । उनले आफैँ पनि धेरै नै पुस्तक लेखेका छन् । पुस्तक लेख्दा र अनुसन्धान गर्दा उद्धरण लिने र त्यसको विवरण राख्ने चलन छ । आफ्नै पुस्तकको केही विवरण लिएर अर्को पुस्तक लेख्दा पनि विरोध । यो कानै नछामी कागको पछि दौडने दौडमा नेपालको एक मात्र साहित्यको संरक्षण संवर्धन गर्ने निकाय प्रज्ञा प्रतिष्ठानलाई पनि देख्दा अचम्म लागेको छ । आफैँले पुस्तक प्रकाशित गर्ने, लेखकलाई नै सर्वाधिकार दिने, आफैँले प्रकाशकीयमा उत्कृष्ट लेख्ने र आफैँले पुस्तकमाथि आरोप लाग्यो भनेर छानबिन समिति बनाउने ? कस्तो विडम्बना हो यो ?
यसबाट हामी साहित्यका विद्यार्थी र अनुरागीले के बुझ्नु पर्छ भने प्रज्ञाबाट प्रकाशित पुस्तकहरू सबै प्रकाशित हुनअघि मूल्याङ्कन भएका हुँदैन रहेछन् । अर्को कुरा भर्खर प्रज्ञा प्रतिष्ठानका तीन भूतपूर्व सदस्य सचिवहरूले यसको ठाडो विरोध गर्दै प्रज्ञाको काम पुस्तकको छानबिन गर्न समिति बनाउने र जाँचबुझ गर्ने होइन भनेर जानकारी गराएका छन् । यो सब व्यक्तिगत रिसइबीको कारण हो भनेर प्रज्ञाको प्रशासन चलाएर बसेका तीन भूतपूर्व प्राज्ञहरूले भनिसकेका छन् ।
डा. खगेन्द्रले नेपाली भाषाको स्थायित्वका लागि मानक नेपाली भाषाको पक्षमा र इम्बोस्ड नम्बर प्लेटको विरोधमा बोलेको हुनाले यसबाट हानी नोक्सानी पाउनेहरू मिलेर उनको मनोबल गिराउन खोजेका हुन् । तर यसले उनलाई भाषा साहित्यको झन् बलियो संरक्षक खम्बा बनाइ दिएको छ ।
डा. खगेन्द्रसँगै श्रीमती लीला लुइटेललाई पनि अनावश्यक रूपमा तारो बनाइएको पाइयो । उनको लेखनको म पनि प्रशंसक हुँ । उनले अरूको लेखन चोरी समातेर त्यसको पर्दाफास गरिरहेकी छन् । चोरीका हरफ हरफ जस्ताको त्यस्तै राखेर देखाइ दिएकी छन् । अझ साहित्य पुरस्कारका ठेकेदारलाई उनको लेखनमा भएको गल्ती र लैनसिंह बाङ्देलमाथि लेखेको अनावश्यक र लेख्दै नलेखेको कृतिका बारेमा पर्दाफास गरी दिएपछि छद्यभेषी नामबाट विरोधका फितलो प्रयास पनि भएको थियो ।
अर्कोतिर गौहाटी विश्वविद्यालयको नेपाली विषयमा स्नातकोत्तरको अध्ययनको थालनीबाट आसामेली नेपालीले मात्र नभएर पूर्वोत्तर भारतेली नेपालीले पनि नेपाली भाषाको अध्ययन गर्ने मौका पाएका छन् । मेरो व्यक्तिगत अनुभवमा नब्बेको दशकसम्म गोपीनारायण प्रधानले मात्र नेपाली विषयमा स्नातकोत्तर गर्नु भएको थियो । तर नेपाली भाषा साहित्यको अध्ययन अनुसन्धान र लेखनका आधारमा कुनै पनि विषयमा स्नातकोत्तर गर्नेले कलेजमा नेपाली प्राध्यापन गर्न पाउँथे । त्यतातिर कलेजमा पढाउने सबैले प्रा. लेख्ने चलन थियो र अहिले पनि छ ।
मैले आफ्नो अध्ययन पूर्वोत्तर भारतबाटै गरेको हुनाले आसाम र मेघालयबाट धेरै परिचित छु । त्यसमा पनि आफ्नो स्नातकोत्तरको थेसिस ‘नेपाली साहित्यमा मेघालयको योगदान’ मा गरेको थिएँ । मैले यस भेगका साहित्यको अध्ययन गर्ने मौका पाएर मेरो पहिलो कृति ‘पूर्वाञ्चल भारतको नेपाली कवि र कविता’ सन् १९८६ मा नेपाली साहित्य परिषद्, आसामले प्रकाशित गरेको थियो । पूर्वाञ्चलमा नै नेपाली भाषामा उच्च अध्ययनको थालनी गराउनमा डा.लुइटेलको भूमिका महत्त्वपूर्ण रहेको छ । त्यसमा लीला लुइटेलको पनि अहम् भूमिकालाई नकार्न सकिँदैन । लीलाका विभिन्न विषयमा प्रकाशित अनुसन्धानात्मक कृतिहरूबाटै उनको नेपाली भाषा साहित्यमा रहेको विशिष्टता थाहा पाउन सकिन्छ । यसरी नेपाली भाषा साहित्यको उच्च अध्ययन नै नगरिएका आफ्नो विशिष्टताका कारण धेरै नै विद्वानहरूका पाठ्य सामग्री हामीले प्रयोग गर्दै आएका छौँ । डा. लुइटेल र लीला लुइटेल दुवै भाषा साहित्यका राम्रा अध्येता र अन्वेषक हुन् र सदैव नयाँ कुराको अन्वेषणमा लागेका हुन्छन् ।
शिलाङ्गको बुद्ध भानु सरस्वती कलेजका प्राध्यापक डा. टेकनारायण उपाध्यायले ‘नेपाली कविताको विकासमा मेघालयको योगदान’ डा. लुइटेलकै निर्देशनमा विद्यावारिधि गर्नु भएको सम्झना छ । आसामबाट त्रिविमा नेपाली विषयको उच्च अध्ययन गर्न आएका धेरै नै विद्यार्थीहरूले डा. लुइटेलकै निर्देशनमा रहेर स्नातकोत्तरको थेसिस लेखेका छन् । उनको विद्वता आसामभरि यी विद्यार्थीका माध्यमबाट पुगेको छ र यही कारणले गर्दा गौहाटी विश्वविद्यालयले नेपाली विषयमा स्नातकोत्तरको अध्ययनको थालनी गराउने सोच बनाउँदा अग्रपंक्तिमा डा. लुइटेलको नाम आएको हुनु पर्छ । यसमा अहिले आएर यस्तो भयो र त्यस्तो भयो । यो होइन र यो हो भनेर बखेडा गर्नु व्यर्थ हो । यदि उनले बनाएको नेपाली विषयको पाठ्यक्रममा कुनै त्रुटि छ भने त्यसको विरोध पहिले नै गर्नुपर्थ्यो । अहिले त्यो कार्यक्रम नै बन्द भइसकेपछि नेपालतिरकै कसैको उक्साहटमा लागेर उनीहरूको चरित्रहत्या गर्न खोज्नु औचित्यहीन हो ।
त्यसैले मलाई लाग्छ अहिले बेनामी रूपमा सुनियोजित तरिकाले डा. लुइटेलको चरित्रहत्या गर्न नेपाली भाषाको नाममा भाषालाई ध्वस्त पार्ने खेलमा एकजुट भएर लागेको पुष्टि भइसकेको छ । किनभने नेपाली भाषाप्रति आस्थावान् स्वदेशी र परदेशी नेपालीहरू डा. लुइटेलको भाषा संरक्षण अभियानअन्तर्गत हाल इम्बोस्ड नम्बरको विरोधमा ऐक्यबद्ध भएर लागेका छन् । नेपाली भाषाका विरुद्ध सर्वोच्च अदालतबाट भएको फैसलाको विरोधमा उनी अदालतलाई नै गल्ती देखाउन निडर भएर उभिएका छन् । नेपाली भाषाका लागि दिलोज्यानले लाग्ने डा. लुइटेलको पक्षमा हामी सबै लामबद्ध भएर लाग्नु पर्छ ।
विभिन्न अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्यका संघसंस्थाहरूले वक्तव्य निकालेर भाषा साहित्यको क्षेत्रमा उनले पु¥याएको योगदानको कदर गर्दै डा. लुइटेलको साथ दिनु पर्छ । हिजो विभिन्न अवस्थामा उनको आवश्यकता परेको थियो । उनलाई बोलाएर कार्यक्रमको गरिमा बढाइएको थियो । उनको भाषा साहित्यप्रतिको योगदानलाई देखेर नै होला सल्लाहकारमा राखिएको थियो । भूमिका, कार्यपत्र, सम्बोधन, सम्पादन र अनुसन्धान कार्यमा सहयोग लिइयो । त्यसैले उनीमाथि लगाइएको आरोप सबै रिसईबी हो र प्रज्ञासँग छानबिन समिति बनाउने अधिकार छैन भनेर प्रज्ञा चलाएका तीन जना प्राज्ञहरूले भनिसकेका छन् । त्यसैले विश्वको एक मात्र हिन्दु राष्ट्रको अस्तित्व मेटाए जस्तै विश्वभरि छरिएर बसोबास गर्ने झन्डै चार करोड नेपालीहरूको मातृभाषालाई समाप्त गर्न षड्यन्त्र सुरु भइसकेको छ । त्यसैले व्यक्तिगत स्वार्थ पूरा गर्न र व्यक्तिगत रिसइबी देखाएर मातृभाषाको अस्तित्व समाप्त पार्ने दुष्प्रयासको विरोध हामी सबैले गर्नुपर्छ । हुन त ईर्ष्या गरेर प्रा.डा. खगेन्द्र लुइटेलको विरोध गरिए तापनि यसबाट उनको बौद्धिकताले अझ बढी परिचय पाएको छ भने उनले पनि थप प्रसिद्धि पाउँदै गएका छन् ।
(२०२० नवमी)