ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानालाई ललितपुर महानगरपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। आर्थिक अभावका कारण चिडियाखानामा रहेका वन्यजन्तुलाई खाना खुवाउन समस्या भएपछि बिहीबार महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले चिडियाखानाका आयोजना अधिकृत डाक्टर चिरञ्जीवी पोखरेललाई सहयोगबापतको चेक हस्तान्तरण गर्नुभयो ।
मेयर महर्जनले कोभिड–१९ सङ्क्रमणका कारण चिडियाखानाको आम्दानी बन्द भएकाले वन्यजन्तुलाई खाना खुवाउन रकम उपलब्ध गराएको बताउनुभएको छ । सदर चिडियाखानाका आयोजना अधिकृत डा. पोखरेलले कोरोना सङ्क्रमणको जोखिमका कारण चिडियाखाना बन्द रहँदा आम्दानी ठप्प रहेको बताउनुभयो ।
चिडियाखानामा वार्षिक १५ करोड रुपैयाँभन्दा बढी खर्च हुने र चिडियाखानाभित्र रहेका वन्यजन्तुको खानपिनका लागि तीन करोडदेखि चार करोड रुपैयाँ खर्च हुने पोखरेलले जानकारी दिनुभएको छ । चिडियाखानामा एक सय १० प्रजातिका १ हजार ६८ वन्यजन्तु छन्।
