अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनाव अघि भइरहेका मत सर्वेक्षणहरुमा लगातार राष्ट्रपति डोनाल्ड ट्रम्प पछि देखिँदै आउनुभएको छ । पछिल्लो पटकको मतसर्वेक्षणमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले अहिलेसम्मकै फराकिलो अग्रता लिनुभएको छ ।
एनबिसी–वाल स्ट्रिट जर्नलले गरेको सर्वेक्षणमा पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेनले १४ अंकको अग्रता पाउनुभएको हो । सर्वेक्षणमा जो बाइडेनको पक्षमा ५३ प्रतिशत तथा ट्रम्पको पक्षमा ३९ प्रतिशत मत देखिएको छ।
राष्ट्रपति ट्रम्प कोरोना भाइरसबाट संक्रमित भइ वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा उपचाररत हुनुहुन्छ । कोरोना भाइरसको महामारीका बिच विज्ञको सल्लाह विपरित भिडभाड युक्त चुनावी सभा गर्दै आएका ट्रम्प त्यसबाट वञ्चित हुनुभएको छ ।
यस्तै उपराष्ट्रपति माइक पेन्स तथा ट्रम्पको परिवारका अरु सदस्यहरुले क्वारेन्टिनका कारण ठूलो चुनावी सभा गर्न पाएका छैनन् । ट्रम्पको चुनावी अभियान अन्तिम केही हप्तामा नयाँ रणनीतिको खोजीमा छ । त्यस विपरित बाइडेनले लगातार अति सीमित तथा पूर्णतः भर्चुअल चुनावी कार्यक्रम गर्दै त्यसलाई नै निरन्तरता दिइरहनुभएको छ ।