अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४५ | Colorodo: 19:00

कोरोनाका कारण नेपालको हवाई क्षेत्रले मासिक ४ अर्ब आय गुमाउँदै

बिआरटीनेपाल २०७७ असोज १५ गते ६:४४ मा प्रकाशित

कोभिड १९ का कारण नेपालको हवाई क्षेत्रमा ठूलो क्षति भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ । निजी क्षेत्रको मात्रै एक खर्ब लगानी रहेको हवाई क्षेत्रमा कोभिडका कारण मासिक चार अर्ब आय गुमाउनु परेको प्राधिकरणले बताएको हो । प्राधिकरणले मात्रै आर्थिक वर्ष २०७६÷ ०७७ मा ४३ प्रतिशत आम्दानी गुमाएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताउनुभयो ।

आन्तरिक उडानतर्फ यो वर्ष ३६ देखि ३८ प्रतिशत यात्रु सङ्ख्यामा कमी आउने उहाँको भनाई छ । नेपालमा मार्च २०२० मा ७३ प्रतिशत हवाई यात्रु घटेको उल्लेख गर्दै उहाँले २४ देखिको लकडाउन र निषेधाज्ञा अवधिमा शत प्रतिशत यात्रु कम भएको बताउनुभयो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) का अनुसार कोभिडको सबैभन्दा बढी प्रभाव एसिया प्रशान्त क्षेत्रमा परेको छ । आईकाओका अनुसार गएको वर्षको जनवरीदेखि अगस्ट २०२० सम्म वायु सेवा कम्पनीहरुले ८६ प्रतिशत यात्रुबाट हुने आम्दानी गुमाएका छन् । सन् २०२० को अन्त्यसम्म अघिल्लो वर्षको तुलनामा ७० देखि ७४ प्रतिशत अन्तर्राष्ट्रिय यात्रु घट्ने अनुमान आईकाओले गरेको छ । अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घले हवाई क्षेत्र कोभिड पूर्वको अवस्थामा फर्किन सन् २०२४ सम्म कुर्नुपर्ने अवस्था आएको बताएको छ ।

सरकारले कोरोनाका कारण हवाई क्षेत्रमा परेको प्रभावलाई सम्बोधन गर्न विभिन्न राहत प्याकेज दिएको छ । लकडाउन सुरु भएदेखि नियमित उडान सुरु भएको मितिले एक महिनासम्म विमान शुल्क, कोठा काउन्टर, पसल तथा ठाउँको बहालमा ७५ प्रतिशत छुट दिएको छ । यस्तै लकडाउन अवधिदेखि असोज १ पछिसम्म नवीकरण अवधि भएका वायु सेवा सञ्चालन प्रमाणपत्र र एअरवर्दिनेश प्रमाणपत्रमा ५० प्रतिशत छुट दिने निर्णय पनि सरकारले गरेको छ ।

विमानस्थललाई बुझाउन बाँकी शुल्क डिसेम्बरसम्म म्याद थप गर्ने, विमानस्थल शुल्क नियमावली २०६७ बमोजिम नियमित रुपमा बुझाउनुपर्ने विमानस्थल शुल्कहरु भुक्तानी गर्ने अवधि डिसेम्बरसम्म कायम गरिएको छ । यस्तै मौद्रिक नीतिमार्फत बैंकको साँवा र ब्याज एक वर्षसम्म बुझाउन नपर्ने र साँवा ब्याजको पुनर्तालिकीकरण र वायु सेवा कम्पनीलाई बैंकबाट रिफाइनान्सिङको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू