अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२९ | Colorodo: 13:44

नेपाल खुला दिसामुक्त भएको एक वर्ष : साबुन पानीले हात धुने अभियान सुरु

बिआरटीनेपाल २०७७ असोज १२ गते २३:५४ मा प्रकाशित

नेपाललाई खुला दिसामुक्त तथा पूर्ण सरसफाइमा अग्रसर राष्ट्र घोषणा गरिएको एक वर्ष पुगेको छ ।अघिल्लो वर्ष आजकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त तथा पूर्ण सरसफाइमा अग्रसर राष्ट्र घोषणा गर्नु भएको थियो । २०६८ साल असारमा पहिलो पटक कास्कीलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।त्यस्तै अघिल्लो वर्ष असोज ४ गते भोजपुरलाई खुला दिसामुक्त घोषणा गरेसँगै नेपाल खुला दिसामुक्त बनेको हो । योसँगै नेपाल खुला दिसामुक्त राष्ट्रको मानक पूरा गर्ने दक्षिण एशियाकै पहिलो देश बनेको छ ।

अन्तर्राष्ट्रिय सरसफाइ वर्षको अवसरमा सन् २००८ मा नेपाललाई खुला दिसामुक्त राष्ट्र बनाउँदै पूर्ण सरसफाइको लक्ष्य हासिल गर्ने प्रतिबद्धता गरिएको थियो । दिगो विकास लक्ष्यसहितका पूर्ण सरसफाइका क्रियाकलाप एकीकृत रुपमा अगाडी बढाउन तीन तहका सरकार लागिपरेका बेला कोरोना महामारीले असर पारेको खानेपानी मन्त्रालयले जनाएको छ ।

साथै कोरोना भाइरस रोक्न समेत प्रभावकारी उपाय मानिएको साबुनपानीले हात धुने विषयलाई एक महिनासम्म अभियानका रुपमा सञ्चालन गर्ने पनि मन्त्रालयले जनाएको छ । ‘हातको सरसफाइ सबैका लागि साबुन पानी हात, सधै साथसाथै’ नाराका साथ आजदेखि एक महिना अभियान चल्ने भएको छ ।अभियानमा मन्त्रालय, राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समिति नेपाल वास र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना सञ्चार केन्द्रलगायतको सहकार्यमा व्यक्तिगत, घरायसी, विद्यालय, स्वास्थ्य केन्द्र, कार्यालयमा साबुनपानीले हात धुने व्यवहारका नौला र सिर्जनशील उपाय एवं प्रविधिको प्रयोग तथा कार्यान्वयन गरिनेछ ।

मन्त्रालयले तीन तहका सरकारका साथै निजी क्षेत्र, सामुदायिक संस्था, आम नागरिकलाई आ-आफ्नो क्षेत्रमा उपलब्ध स्रोत साधनबाटै साबुन पानीले हात धुने क्रियाकलाप गर्न/गराउन आग्रह गरेको छ । नेपाललाई सन् २०३० भित्र पूर्ण सरसफाइयुक्त राष्ट्र बनाउने अभियान चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू