अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०७
| Colorodo: 22:22
जिन्दगीको यात्रामा
निरन्तर आफैलाई
खारेज गरेको मान्छे म
अचानक अन्त्यबाट सुरु भयो
प्रिय जिन्दगानी…!!
निलो आकाशमा
एक धर्को कालो बादल
आँधीहुरी बनी हिँड्यो
चुपचाप थियो मौन पहाड
सम्झेँ मेरो बाटो मैं हुं…
किशोरी प्यालाहरूमा
प्रिय मधुशालाहरूमा
साच्न खोजेँ खुसीहरू
झन्-झन बढ्यो कहर
सम्झेँ दुखको कारण मैं हुं…
सुनको सहर लेखुं भन्थेँ
स्वर्ग यतै देखुं भन्थें
भेटिएनन् अप्ठ्यारोमा
दिन्छौँ हात भन्नेहरू
सम्झेँ मेरो संगी मैं हुं…
दीक्षा लिएर गुरुको
दुनियाँ बदल्ने रहर मेरो
लडाइको थियो मैदान
भेटिएनन् गुरुहरू
सम्झेँ मेरो गुरु मैं हुं…
आँसु सिँचेर आमाले
पहरामा फुलाएको फूल म
एक अँजुली स्नेह छ
एक धर्को उज्यालो
सम्झेँ मेरो भगवान् मैं हुं…
पाप पढेँ पुण्य पढेँ
आगो पढेँ पानी पढेँ
पुस्तक हजार पढेँ
भेटिएन जिन्दगीको किनारा
लाग्यो बाँकी किताब मैं हुं …
(नवलपुर-गण्डकी प्रदेश)