अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१३ | Colorodo: 17:28

अन्तर्राष्ट्रिय उडान सुरु

बिआरटीनेपाल २०७७ भदौ १६ गते २१:३८ मा प्रकाशित

नेपालमा लामो समयदेखि बन्द रहेको अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि चैत ९ गतेदेखि बन्द भएको उडान गएरातीबाट सुरु भएको हो । गएराति १ बजे नेपाल वायु सेवा निगमको वाइडबडी जहाज जापानको नारिता उडेसँगै रोकिएको नियमित उडान सुरु भएको हो ।

सरकारले सीमित संख्यामा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेसँगै हिजोबाट उडान सुरु भएको हो । आज दिउँसो मलेसियाका लागि अर्को उडान हुनेछ । क्वालालाम्पुरबाट मालिन्दो एयरको जहाजले यात्रुलाई काठमाडौं ल्याउने त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले बताउनुभयो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सेप्टेम्बर सम्म अथवा असोज १५ गतेसम्मका लागि ५८ वटा नियमित उडानको तालिका बनाएको छ । सार्वजनिक गरिएको तालिकाअनुसार हरेक दिन दुईवटा नियमित अन्तर्राष्ट्रिय उडान हुनेछन् । जसमध्ये २९ उडान स्वदेशी अन्तर्राष्ट्रिय उडान सेवा प्रदायक निगम र हिमालय एयरलाइन्सको हुनेछ । बाँकी विभिन्न देशका अन्तर्राष्ट्रिय सेवा प्रदायकको हुने गरी तालिका सार्वजनिक गरिएको छ ।

उडानका लागि यात्रुले ७२ घन्टाअघिको कोभिड नेगेटिभ रिपोर्ट अनिवार्य बुझाउनुपर्ने छ । यसरी परीक्षण नगरेका यात्रु समेत मिसाएर उडान गराएमा त्यसको क्वारेन्टाइन व्यवस्थापन खर्च सम्बन्धित विमान कम्पनीले नै बेहोर्नुपर्ने छ । नियमिततर्फको अन्तर्राष्ट्रिय उडान सुरु भए पनि आन्तरिक उडान भने खुला भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू