नेपाली महिला आन्दोलनकी अग्रज नेतृ स्व. मंगलादेवी सिंहलाई नेपाल रत्न विभूषणबाट विभूषित गर्न गणेशमान सिंह अध्ययन प्रतिष्ठानको अपिल गरेको छ। नेपालमा प्रजातन्त्र स्थापनार्थ तथा नेपाली महिलाको हक, अधिकारको निमित्त गरिएका आन्दोलनमा सिंहको योगदान अतुलनीय रहेको भन्दै उहाँलाई नेपाल रत्न विभूषणबाट विभूषित गर्न आग्रह गरिएको प्रतिष्ठानका अध्यक्ष नविन्द्रराज जोशीले जानकारी दिनुभयो ।
‘महिलाहरुलाई घरभित्रको कामकाजमा सिमित गरी शिक्षा, स्वास्थ्य, स्वनिर्णय जस्ता आधारभूत मानव अधिकारबाट समेत वंचित गर्ने सामाजिक प्रचलन रहेको र राजनीतिमा महिला सहभागीता लगभग शून्य रहेको समयमा महिलाले भोट हाल्न र पढ्न पाउनु पर्ने अधिकारका लागि आवाज उठाउने विरङ्गाना मंगला मा नेपाली महिला अधिकार आन्दोलनकी रत्न हुनु हुन्छ भन्ने कुरामा कुनै दुई मत छैन’, प्रतिष्ठनद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ।
२००७ सालको क्रान्तिदेखि २०४६ सालको जनआन्दोलनसम्म सिंहको अविच्छिन्न प्रेरणादायी भूमिका रहेको छ। ‘मंगलादेवी सिंहको विवाह भएको चार महिनामा नै आफ्ना पतिलाई जन्मकैद भएको बज्रपात सहनु भएको थियो। तर सो घटानाले उहाँलाई हतास बनाएन र उहाँ विद्रोही आन्दोलनमा सक्रियताका साथ लाग्नु भयो। दृढ निस्चयी, अविचल, नेपाली महिला आन्दोलनकी प्रणेता, प्रजातन्त्री आन्दोलनकी अग्रणी सिपाही मंगलामा नेपाली महिला र प्रजातन्त्र प्रेमी आम नागरिककी प्रेरणाकी श्रोत हुनु हुन्छ। प्रजातन्त्र र महिला स्वतन्त्राको लागि उहाँको योगदानको उचित कदर हुनु वाँछनीय छ’, विज्ञप्तिमा भनिएको छ।
