अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५५ | Colorodo: 18:10

गण्डकी प्रदेशमा २० सैनिकसहित ३२ कोरोना सङ्क्रमित थपिए

बिआरटीनेपाल २०७७ भदौ १० गते ७:४४ मा प्रकाशित

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण बढ्दै गएको छ । केही दिनयता प्रदेशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहे पनि सङ्क्रमण नघटेको हो । पछिल्लो समय प्रदेशमा सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीमा समेत सङ्क्रमण देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा आज प्रदेशका कास्की, लमजुङ र नवलपरासीमा गरी २ दुई महिला र ३० पुरुष गरी ३२ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

कास्कीमा भेटिएका दुई सङ्क्रमितमध्ये एक जना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र अर्का विदेशबाट आएर क्वारेन्टिनमा बसेका व्यक्ति रहेको बताईएको छ । लमजुङमा २३ जना थपिएकामा २० पुरुष नेपाली सेनामा कार्यरत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । लमजुङका भेटिएका सङ्क्रमित अर्का एक पुरुष बेँसीशहरमा एक बैंकमा कार्यरत रहेको बताईएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्वको गैँडाकोट र कावासोतीमा गरी अन्य ७ जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

हालसम्म प्रदेशमा सङ्क्रमित एक हजार ९३६ पुगेका छन् भने एक हजार ६४३ जना निको भएका छन् । प्रदेशमा सङ्क्रमणबाट निको हुने दर ८४ दशमलव ८६ प्रतिशत रहेको छ । हालसम्म ८ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।प्रदेशमा अहिलेसम्म ४१ हजार ३९१ जनाको पिसीआर विधिबाट कोरोना परीक्षण गरिएकामा ३९ हजार ४५५ मा सङ्क्रमण देखिएको छैन । पछिल्लो समय गण्डकी प्रदेशका प्रयोगशालामा दैनिक १ एक हजार हाराहारीमा परीक्षण हुने गरेकाले नतिजा आउन बाँकी नमूना ‘पेन्डिङ’ नरहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय