विश्व्यापी महामारीका रुपमा फैलिरहेको (कोभिड–१९) को संक्रमण नेपालमा पछिल्लो एक महिनामा निकै उच्च गतिमा वृद्धि भएको छ । मृत्युदर र संक्रमण दर जुन गतिमा बढिरहेको छ, त्यसको तुलनामा निको हुने दर भने निकै न्यून छ ।एक महिनाअघि निको हुने दर कुल संक्रमितको ६९ दशमलव ३४ प्रतिशत थियो ।एक महिनापछि निको हुने दर ५९ प्रतिशतमा झरेको छ ।
सरकारका प्रवक्ता डा युवराज खतिवडाले गत साउन ५ को मन्त्रिपरिषद्को निर्णयअनुसार साउन ६ गते रातिदेखि बन्दाबन्दी हटेको घोषणा गर्नुभएको थियो ।त्यसको आज एक महिना पूरा भएको छ । यही एक महिनाले विगतका सबै महिनाको भन्दा सङ्क्रमण र मृत्युदरमा नसोचेको परिणाम दिएको छ ।
स्थिति जटिलतातर्फ गइरहेकाले नागरिकले उच्च सावधानी अपनाउनु जरुरी रहेको जनस्वास्थ्य विज्ञले बताएका छन् ।नेपालमा गत माघमा चीनबाट आएका एक नेपालीमा संक्रमण देखा परेको थियो ।त्यसपछि चैत १० गते तेस्रो मुलुकबाट आएका दोस्रो नेपालीमा देखिएको थियो ।
संक्रमण फैलिन नदिन सरकारले चैत ११ देखि बन्दाबन्दी जारी गरेको थियो ।क्रमशः संक्रमण वृद्धि हुँदै वैशाख अन्तिम सातादेखि तीन अङ्कमा संक्रमण देखिन थालेको थियो ।असारमा केही कमी देखिएपछि सरकारले चार महिना लामो बन्दाबन्दीलाई साउन ६ गतेदेखि अन्त्य गरेको थियो ।
बन्दाबन्दी अन्त्य भएर गतिविधि चलायमान हुँदा मुलुकका सबै जिल्लामा मानिसहरु विनासावधानी घुलमिल भए । त्यसैको परिणाम अहिले देखिन थालेको छ । अहिले एकैदिन ११ जनासम्मको मृत्यु भएको र एकै दिन एक हजार बढी नयाँ संक्रमित भेटिएका छन् ।
