नेपालमा कोरोना सङ्क्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ । गएको २४ घण्टामा ८ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।गत २४ घण्टामा ८ हजार २६ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा ८ सय १८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै २४ घण्टायता २ सय ८१ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ६ सय ३१ पुगेको छ ।
अहिले देशभर १३ हजार १ सय ५५ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै ११ हजार चार सय १४ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म आइसोलेसनमा रहनेको संख्या ३ हजार ९ सय ४३ रहेको छ । यस्तै गएको २४ घण्टामा ७ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ५३ पुगेको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले गत २४ घण्टामा ३ जनाको ज्यान गएको औपचारिक जानकारी गराएपनि थप ४ जनाको आजै ज्यान गएको हो ।
कोरोना भाइरस संक्रमणको कारण काठमाडौँ उपत्यकामा थप २ जनाको तथा रुपन्देहीको बुटवलमा दुई कोरोना संक्रमितको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले पछिल्लो मृतकको वारेमा औपचारिक जानकारी गराउन भने बाँकी छ ।
