नेकपाभित्र देखिएको गतिरोध अन्त्यका लागि सुझाव दिन गठित कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ। महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलले नेकपाका दुवै अध्यक्ष प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिवेदन बुझाएको हो। प्रतिवेदन बुझ्न अध्यक्ष पुष्ककमल दाहाल प्रचण्ड अपरान्ह साढे ४ बजे बालुवाटार पुग्नुभएको थियो । दुई महिनाभन्दा बढी समयदेखि नेकपामा बढेको आन्तरिक विवादमा समाधान गर्न साउन ३० गर्न अध्यक्षद्धय ओली र प्रचण्डले गठन गरेको कार्यदललाई सचिवालयले अनुमोदन गरेको थियो।
प्रतिवेदनलाई अन्तिम रुप दिन शनिबार बिहानै देखि कार्यदललको बैठक बसेको थियो। ६ घण्टाभन्दा बढी समय बैठक बसेपछि प्रतिवेदन बुझाएको कार्यदलका एक सदस्यले जानकारी दिएका छन् । प्रतिवेदनमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनु नपर्ने, प्रचण्डलाई दिइएको कार्यकारी अध्यक्षको अधिकार थप व्यवस्थित र व्याख्या गरिएको, सरकारका सबै निर्णय पार्टीको सहमितमा हुने, चैतमा तोकिएको महाधिवेशन सुनिश्चित हुने गरी तत्काल काम अघि बढाउने लगायका सुझाव समेटिएको श्रोतले जनाएको छ ।
महासचिव पौडेलको संयोजकत्वमा गठित कार्यदलमा तीनवटै ठूला गुटबाट दुई दुईजनाको प्रतिनिधित्व हुने गरी बनाइएको छ। जसमा ओली पक्षबाट महासचिव पौडेल र शंखर पोखरेल अर्का अध्यक्ष प्रचण्ड पक्षबाट जर्नादन शर्मा र पम्फा भुषाल एवं वरिष्ठ नेता मावधकुमार नेपाल पक्षबाट नेता डा. भीम रावल र सुरेन्द्र पाण्डे रहनुभएको छ ।
