अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४२ | Colorodo: 11:57

साउदीबाट ६ सय १८ जना नेपालीले पाए बहिर्गमन भिसा

बिआरटीनेपाल २०७७ भदौ ५ गते ६:४६ मा प्रकाशित

साउदीमा रहेका ६१८ नेपालीले अहिलेसम्म बहिर्गमन भिसा पाएका छन् ।साउदीमा रहेको नेपाली दूतावासले पुस, माघ र फागुनमा निवेदन दिएकामध्ये केही व्यक्तिले बहिर्गमन भिसा प्राप्त गरेका हुन् । यसअघि साउदी अरेबियाले ४९८ जनालाई बहिर्गमन भिसा दिएको थियो । बिहिबार एक विज्ञप्ति जारी गर्दै थप १२० जनाले बहिर्गमन भिसा पाएको दूतावासले जनाएको छ । उनीहरू भिसा लागेकाहरू भिसा लागेको मितिले ६० दिनभित्र आफ्नो खर्चमा स्वदेश फर्किसक्नुपर्नेछ ।

बहिर्गमन भिसा पाएपछि विभिन्न कम्पनी र प्रतिष्ठानहरूमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र नबनाएका वा नवीकरण नगरेका कारण स्वदेश फर्कन नपाएकाहरू स्वदेश फर्कन पाउने भएका हुन् । बहिर्गमन भिसा प्राप्त गरेका नेपालीलाई दूतावासले आगामी दिनमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले साउदी अरबको रियाद र दमामबाट गर्ने उडानहरूबाट स्वदेश फर्किने तयारी थाल्न पनि भनेको छ ।

बहिर्गमन भिसाका लागि साउदीमा रहेको नेपाली दूतावासले विभिन्न समयमा नेपालीबाट संकलन गरेका विवरण केही समयअगाडि साउदी सरकारलाई उपलब्ध गराए पनि कोरोना संक्रमणका कारण अवरुद्ध यो प्रक्रिया क्रमशः सुरु भएको दूतावासले जनाएको छ ।

प्रतिक्रिया