अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४१ | Colorodo: 21:56

आज हरितालिका तीज पर्व मनाइँदै, कोरोनाका कारण मन्दिरहरु सुनसान

बिआरटीनेपाल २०७७ भदौ ४ गते २१:१२ मा प्रकाशित

हिन्दु महिलाहरु आज(शुक्रबार) हरितालिका तीज पर्व मनाउँदैछन् । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यो पर्व देवादिदेव महादेवको पूजा आराधना गरी मनाइन्छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ ।जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।विवाहित महिलाले पतिको दिर्घायू र अविवाहित महिलाले सुयोग्य वरको कामना गर्दै तिजको दिन निराहार ब्रत बस्ने परम्परा छ ।

व्रत गर्ने नारीले अटल सौभाग्य प्राप्त गर्ने जनविश्वाश रहेको छ ।भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले तपस्या गरेर श्रीमहादेव पति पाउने बरदान पाएकी थिइन् ।तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत भगवना विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए ।साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।यसरी पार्वती साथीद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ ।

तीजका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना फैलन थालेपछि धेरै मन्दिर चैतदेखि नै बन्द गरिएको छ । देशका अन्य मठमन्दिरहरुमा पनि खास चहलपहल छैन ।पशुपतिनाथ मन्दिर गत चैत ११ गतेदेखि नै बन्द छ । काठमाडौँ उपत्यकामा कोरोनाको महामारी फैलँदै गएकाले तीजमा मन्दिर नखुल्ने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिनुभयो ।

राजधानीमा निषेधाज्ञासमेत जारी गरिएकाले तीजका बर्तालुले घरमै देवादिदेव महादेवको विधिपूर्वक पूजाराधना गरी यो पर्व मनाउँदैछन् । यस वर्ष भने कोरोनाबाट बच्न भीडभाड नगरी घरघरमै परिवारका सदस्यबीच तीज मनाउनुपर्ने अवस्था सृजना भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू