न्यु योर्क । किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) ले कोरोना भाइरसको महामारीका बिच यही अगस्ट १७ मा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
यहाँ स्थित सत्यनारायण मन्दिरमा आयोजित रक्तदान कार्यक्रममा ६३ पिन्ट रगत जम्मा भएको केआरएसएले जनाएको छ । स्वास्थ्य, देश बाहिर यात्रा, अघिल्लो पटक रक्तदान गरेको अवधि लगायतका कारण करिब एक दर्जन सहभागीले रक्तदान गर्न पाएनन् । ‘रक्तदान भव्य रूपमा सम्पन्न भयो,’ केआरएसए केन्द्रीय अध्यक्ष राम राईले भने ।
कोरोना भाइरसको महामारीका कारण यहाँ स्थित अस्पतालहरुमा रगतको कमी हुन आएका कारण रक्तदान कार्यक्रम आयोजना गरिएको हो । अध्यक्ष राईले मानव जीवनमा अत्यन्त महत्त्वपूर्ण रगत कोरोना भाइरसको महामारीका कारण न्यु योर्कका अस्पतालहरुमा कमी हुन गएको उल्लेख गर्दै रक्तदान कार्यक्रममा आयोजना गरिएको बताए ।
अध्यक्ष राईका अनुसार रक्तदानमा करिब ८० जना सहभागी थिए । तर, कतिपय सहभागी अमेरिका बसोबास गरेको ३ वर्ष नपुगेको र कतिपयको स्वास्थ्यमा समस्या देखिएको कारण ६३ जनाले रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रम बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सम्पन्न भएको थियो । कार्यक्रममा केआरएसए केन्द्रका वरिष्ठ उपाध्यक्ष खगेन्द्र राई लगायतका पदाधिकारी र सदस्यहरूको उपस्थिति थियो
रक्तदान कार्यक्रममा यहाँ स्थित ब्लड सेन्टरबाट स्वास्थकर्मीहरु खटिएका थिए । रक्तदानमा सहभागीलाई अध्यक्ष र उपाध्यक्षले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा यहाँ स्थित ब्लड सेन्टरबाट सहभागी स्वास्थ्यकर्मीलाई पनि प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।
यसअघि नेपाली समुदायले गरेको रक्तदान कार्यक्रममा रक्तदाता एकै समयमा हुल बाँधेर उपस्थित हुने गरेको देखिएपछि केआरएसएले रक्तदानका लागि अग्रिम समय बुकिङको व्यवस्था गरेको थियो । त्यस अनुसार नै रक्तदाता पालो पालो आआफ्नो समयमा रक्तदान स्थलमा आएका थिए ।