अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४८ | Colorodo: 22:03

दूरकी कवितालाई

तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा २०७७ भदौ १ गते ९:४० मा प्रकाशित

कविता किन्नरी नौली गला रङ्ग रसाउॅंछिन्
पात बजाउॅंदै बाजा छन्द बेग्लै पढाउॅंछिन्
पोती मुहारमा माटो, माटो खेल्दै खुसाउॅंछिन्
केलाएर यही माटो प्राणाधार जुटाउॅंछिन् ।१।

पर्दा आलस्यको फ्याॅंकी रात ढल्दा उदाउॅंछिन्
झरी बादलका भित्र श्रमचित्र सजाउॅंछिन्
पिएर मूलको पानी प्यास भगाउॅंछिन् पर
लेकबेंसी जहाॅं काम उहीॅं पुग्छिन् सरासर ।२।

हॅंसिया चालमा चल्छिन् वनपाखा चुमीचुमी
जित्ने लोभ कतै छैन नौलो संसारमा घुमी
छहारी हरिया खोजी कतै झकाउॅंछिन् – उनी
डाली च्यापी उठी गाई-बाख्रा फकाउॅंछिन् -उनी ।३।

अल्प अल्प निदाएर तारा हेर्दै उतातिर
पॅंधेरा दूरमा धाई घर पोत्छिन् निरन्तर
अघाएर अरूलाई गाॅंस टिप्छिन् छ जे जति
भेटिन्छन् कतिमा यस्ता उदार भाव-सम्पत्ति ? ४।

खेल्छिन् शावकका साथ गाउॅंछिन् यी चरीसॅंगै
अल्मलिई कहाॅं भुल्थिन् , झुल्छिन् उल्लास रौसमै
छलछाम कतै छैन बोक्छिन् निश्छल भावना
दिल आलोक के गल्थिन् सिर्जनाकी उपासना ! ५।

झरनामा नुहाएर केशराशि सुकाउॅंछिन्
शिरमा फूल स्यूरेर फूलजस्तै रसाउॅंछिन्
रूप साॅंची बसेकी छन् फूलजस्तै मनोहर
पटुकीले कसेको त्यो भेष छुट्टै छ सुन्दर ।६।

लता हात पसारेर बोटलाई समाउॅंछिन्
मीठो रस लिई मौरी गीत मङ्गल गाउॅंछिन्
घाम छाया मिली खेल्छन् शैल साक्षी बसाउॅंदै
यी हेर्छिन् जलका ऐना मन्द मुस्कान छाउॅंदै ।७।

फूल यी सुनगाभा हुन् फुल्छिन् पर्वत कापमा
बनेर घरकी बत्ती घाम ढोक्छिन् प्रभातमा
पसिना प्रेमले प्यूॅंदै लाली ओठ खुलाउॅंछिन्
के पोतून् तनमा रङ्ग इन्द्रेणी रङभित्र छिन् ।८।

प्रकृति रंगमै जम्छिन् अरू क्यै छैन लेपन
चढ्छिन् , झर्छिन् थलो आफ्नै छल्दै बाधा र उल्झन
बोक्ला पालिस के मोल , अनमोल छ यो पन
दूरकी कविता सम्झी लाग्यो भेट्न उतै मन !९।
*
गोरखा, लप्सीबोट; हाल: सरस्वती नगर, काठमाडौॅं – ६ ।