अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३० | Colorodo: 18:45

अद्यावधिक नक्सा अङ्कित लोगो सङ्घीय संसद्का पदाधिकारीलाई हस्तान्तरण

बिआरटीनेपाल २०७७ साउन ३२ गते ७:२६ मा प्रकाशित

सङ्घीय संसद्ले नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अङ्कित नयाँ प्रतिक लोगो तयार पारेर संसद्का पदाधिकारीलाई हस्तान्तरण गरेको छ ।सङ्घीय संसद्का महासचिव डाक्टर भरतराज गौतमले सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाललाई लोगो हस्तान्तरण गर्नुभएको हो । सभामुख सापकोटा, अध्यक्ष तिमिल्सिना र उपाध्यक्ष दाहालले सोमबारदेखि नै नयाँ लोगो लगाउनुभएको छ ।

गएको जेठ ११ गते बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सङ्घीय संसद्का सदस्यहरुले प्रयोग गर्दै आएको लोगो नेपालको वास्तविक सीमा अनुरुपको नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि सङ्घीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोस्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय भएको हो । कार्यव्यवस्था परामर्श समितिको निर्णयअनुसार सङ्घीय संसद् सचिवालयले नयाँ लोगो तयार गरेको हो ।

दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा एक तोला चाँदीको बेस र ३ दशमलव ५ सेन्टिमिटर व्यास रहेको छ । लोगो वाग्मती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो । प्रतिलोगो पाँच हजार पाँच सय २७ रुपैयाँ खर्च लागेको महासचिव गौतमले जानकारी दिनुभयो । सङ्घीय संसद्का सदस्यहरुलाई समेत नयाँ नक्सा अङ्कित लोगो सोमबारदेखि नै उपलब्ध गराइने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय