सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ को लिदीमा पानीको उचित व्यवस्थापन हुन नसक्दा पहिरो गएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ । भूकम्पपछि बस्ती उच्च जोखिममा रहेको भए पनि सरकारले व्यवस्थापनमा ध्यान नदिएको भन्ने टिप्पणी भइरहेका बेला प्राधिकरणले यस्तो बताएको हो । प्राधिकरणका कार्यकारी समिति सदस्य डाक्टर चन्द्रबहादुर श्रेष्ठले पानीको व्यवस्थापन हुन नसक्दा पहिरो गएको बताउनुभयो ।
प्राधिकरणको नेतृत्वमा त्यति बेला अध्ययन भएको उल्लेख गर्दे उहाँले अध्ययनले बस्ती केही पनि गर्न नपर्ने गरी १ नम्बर श्रेणीमा देखाएको तर पानीको उचित निकासका लागि पालिकाले काम नै गर्न नसकेको बताउनुभयो । नेपालमा ३० डिग्रीभन्दा बढीको स्लोपमा रहेका बस्तीहरु पहिरोको उच्च जोखिममा रहेको भए पनि लिदीको अवस्था त्यस्तो नभएको उहाँको भनाइ छ । लिदीमा पहिरोले ३७ घरमा क्षति पुगेको छ । ठूलो जनधनको क्षतिसमेत गरेको छ ।
भूकम्पपछि सिन्धुपाल्चोक, दोलखा, गोरखा, धादिङ, नुवाकोट, रसुवा, रामेछाप, काभ्रेलगायत १४ जिल्ला पहिरोको उच्च जोखिममा रहेका छन् । यस्तै ३१ जिल्ला पहिरोको जोखिममा छन् । प्राधिकरणले चार हजार आठ सय २९ बस्ती पहिरोको उच्च जोखिममा रहेको जनाएको छ । अहिलेसम्म चार हजार एक सय ७६ बस्ती व्यवस्थापन भइसकेको भए पनि अझै पाँच सय बस्ती जोखिममा रहेको श्रेष्ठले बताउनुभयो ।
