अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२० | Colorodo: 16:35

कवि र कालो बोको

रामचन्द्र दाहाल २०७७ साउन २७ गते २०:०४ मा प्रकाशित

आजकाल त विभिन्न सञ्चारबाट पनि
कविता सुन्न र पढ्न पाइन्छ ।
म रेडियोबाट एक जना कविको कविता,
बारम्बार सुनिरहन्छु ।

ती रेडियोमा कराउने कवि-
आफू कालाेबाेकाे हुन सकिन भनेर,
कवितात्मक गुनासाेगर्छन् ।

यदि उनी निख्खरा कालाेबाेकाे भएका भए-
उनको मोलतोल हुन्थ्यो रे ।
मान्छे भएरै होला आजसम्म पनि,
उनको मोल कसैले सोधेन अरे ।
माेल्छन कि कसैले भनेर-
उनी बाेकाबजारतिर त घुम्छन् अरे ।

तर पनि उनको मोल कसैले नगरेपछि-
मूल्यरहित मानिस रहेछु भनेर,
निख्खर कालाेबाेकाे नभएको पछुतोमा-
कवितात्मक गुनासो गर्दै थिए कवि ।

ती कविको शरीरमा चाैसठ्ठीकिलाे मासु र
दश बाह्र बोतल रगत छ भन्थे ।
त्यही रगत र मासुबाेेकेर-
बिनामूल्य बजारतिर घुमिरहे छु भन्थे ।

यति धेरै रगत र मासु भएको-
यदि निख्खन् कालाेबाेकाे भएका भए,
तँछाडमछाड मछाड उनको मोलतोल हुन्थ्यो अरे ।

निराश भएर भन्दै थिए कवि –
पत्थरको मूर्ति नै सही ,
काली,दन्तकाली,रक्तकालीहरूका मन्दिरमा-
चटक्कै घाँटी छिनाएर,
कालीकै अगाडि सम्पूर्ण रगत पोख्दै-
बरु परम्धामहुने सौभाग्य मिल्थ्यो रे ।

देवी प्रसादका रूपमा घर घरमा पुगेर,
सेकुवा र भुटुवामा विभाजित हुँदै –
मदहाेसीका चाहाना अनुरूप,
रक्सीका झोलमा डुबुल्किमार्दै-
ठुलै घाँटीबाट ठुलै भुँडीमा,
खुत्रुक्क झर्न पाउँथे रे कवि ।

उनको मासुको स्वादिष्ट म म र
उनको छालाकाडेर,
जुत्ता बन्दासम्म पनि-
उनको मोलतोल हुन्थ्यो अरे ।

अपसोच !
न कविको मासुले प्रख्यात म म बन्न पाए छ,
न उनको छालाले मूल्यवान् जुत्ता नै बन्न पाए छ।
कमसेकम जुत्तै बनेकाेभए पनि-
ठूलामान्छेका खुट्टामा सजिएर,
ठूलैकुर्सी वरिपरि परमानन्दले घुमेर-
सन्तुष्टि पाउँथे रे कवि ।

ऐले पनि यसो बजारतिर घुम्दा –
पानी त छ्याप्तैछन् रे मानिसहरू !
तै ! कसैले मूल्य सोधिहाल्छन् कि भनेर,
आङ त झट्कार्दै छन् रे कवि !

तर पनि,
उनलाई कसैले, नमाेलेपछि-
यो जीवनमा कमसेकम कालो बोको पनि,
हुन सकिन भनेर-
आफैँलाई धिक्कार्दा रहेछन् कवि ।
मूल्यविहीन मानिसकै दर्जा भिरेर-
बाेकाबजारमा घुम्दा रहेछन् कवि ।

प्रतिक्रिया