नेपाली कांग्रेसका पूर्वपदाधिकारीसहित देउवा निवास बूढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की परेको छ । विभाग गठन र विस्तार रोक्न पौडेलले गरेको आग्रहलाई सभापति देउवाले ठाडै अस्वीकार गरेपछि उहाँहरुबीच चर्काचर्की भएको हो ।
नेता पौडेलले महाधिवेशन प्रभावित हुनेगरी गठन गरेको विभाग खारेज गर्न माग गरेपनि देउवाले केही दिनभित्रै ४७ ओटै विभाग विस्तार गरेर देखाउने जवाफ दिनुभएको थियो ।बैठकमा सहभागी एक पूर्वपदाधिकारीकाअनुसार देउवाले उपलब्ध ४० प्रतिशतमा नाम नदिए एकल निर्णयमा विभाग गठनलाई अन्तिम रुप दिने जवाफ पौडेललाई दिनुभएको थियो ।
पौडेल समूहले गठन भएको कुनैपनि विभागमा आफ्नो समूहको उपस्थिति नहुने र त्यसलाई स्वीकार नगर्ने अडान राखेको छ ।देउवाले पार्टी समायोजनलाई सहज बनाउन तीनओटा विभागको नेतृत्व उपसभापति विजयकुमार गच्छदारलाई दिने र बाँकी विभागहरुमा पाँचदेखि सात सदस्य कोटा छुट्ट्याएको जवाफसमेत पौडेललाई दिनुभएको थियो ।
यस्तै, बैठकले १४औं महाधिवेशनमा हाल रहेका करिब ५ लाख क्रियाशील सदस्यलाई दोब्बरले बढाउने निर्णय पनि गरेको छ । बैठकमा केही सहभागीहरुले कारबाहीमा परेका गोविन्दराज जोशीसहित तीनजना नेतालाई पार्टीमा पुनर्बहाली गर्नुपर्ने माग राखेका थिए । यस्तै, बैठकमा भ्रातृसंगठनहरुको म्याद छ महिना थप्ने तथा क्रियाशील सदस्यता छानबिन समिति गठन गर्नेलगायतका विषयमा समेत छलफल भएको थियो ।
