अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१३ | Colorodo: 17:28

गण्डकी प्रदेशमा जोर–बिजोर लागू नहुने

बिआरटीनेपाल २०७७ साउन २२ गते ६:५६ मा प्रकाशित

कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी बिहीबारदेखि लागू भएको जोर–बिजोर प्रणाली गण्डकी प्रदेशमा लागू नहुने भएको छ । सरकारले दुई सय जनाभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा यो नियम लागू गर्ने निर्णय गरेको थियो । गण्डकी प्रदेशका सबै ११ जिल्लामा दुई सयको संख्यामा सक्रिय सङ्क्रमित नभएका कारण जोर–बिजोर प्रणाली लागू नहुने भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले प्रदेशको कुनै पनि जिल्लामा दुई सयको हाराहारीमा सक्रिय सङ्क्रमित नरहेको जानकारी दिनुभयो ।

निर्देशक शर्माका अनुसार अहिलेसम्म २६ हजार ३८ जनाको स्वाब सङ्कलन गरिएको छ । तीमध्ये २४ हजार चार सय ७२ जनाको नेगेटिभ रिपोर्ट आएको छ । गण्डकीमा बिहीबारसम्म कोरोना सङ्क्रमितको संख्या एक हजार पाँच सय ६६ पुगेको छ । सङ्क्रमितमध्ये एक हजार तीन सय ६२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा तीन सय १५ को कोरोना परीक्षण भएको छ भने अहिलेसम्म चार जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यसैगरी क्वरेण्टीनमा एक हजार ११ जना रहेका छन् भने आइसोलेशनमा दुई सय ११ जना छन् । प्रदेशमा अहिलेसम्म भारतबाट १२ हजार दुई सय ९१ र तेस्रो देशबाट ५ हजार १ सय ४ जना आएको तथ्याङ्क छ । यसैबीच, कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले कास्की जिल्लामा पनि दुई सय जना सक्रिय कोरोना सङ्क्रमित नभएकाले जोर–बिजोर लागू नहुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय