‘इनफ इज इनफ’ अभियानमा रहेका केही युवाहरुलाई प्रहरीले शनिबार पनि नियन्त्रणमा लिएको छ ।सरकारको विरोध गर्न बालुवाटार जानेक्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।यसअघि, शुक्रबार पनि निषेधित क्षेत्र तोड्दै सरकारको विरोधमा प्रदर्शन गर्न पुगेका युवाहरुलाई टंगालस्थित भाटभटेनी मन्दिरबाट नियन्त्रणमा लिएको थियो ।
प्रहरीले बालुवाटार आसपास क्षेत्रमा धर्ना, जुलुस गर्न निषेध गरेको छ । केही महिनादेखि स्वतःस्फूर्त अभियानमा जोडिएका उनीहरुले ‘पीसीआर’ परीक्षणको दायरा बढाउनुपर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, ललिता निवास जग्गा प्रक्ररणमा जोडिएकालाई कारबाही गर्नुपर्नेलगायतका माग राख्दै अनशनसहित सडक प्रदर्शन गर्दै आएका छन् । गएको असारमा सरकार र युवाहरुबीच १२ बुँदे सहमति भएपनि माग सम्बोधन नभएको भन्दै प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।
