नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको काम नदेख्ने नेपालीलाई मोतीबिन्दु लागेको टिप्पणी गर्नुभएको छ । सोमबार वीर अस्पतालको १ सय ३१ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको काम विदेशीहरुले देखेको तर नेपालीहरुले नदेख्नुमा नेपाली संस्कारमा मोतीबिन्दु लागेको हुन सक्ने बताउनुभयो । उहाँले शक्ति सम्पन्न राष्ट्रहरुले भन्दा नेपाल सरकारले प्रभावकारी काम गर्न सकेको तर नेपालीहरुले नै नदेखेको बताउनुभएको हो ।
मन्त्री ढकालले विदेशमा बस्ने नेपाली र स्वदेशमा बस्ने नेपाली सबैले सरकारको काम नदेख्नुले नेपाली संस्कारमा मोतीबिन्दु लागेको हुन सक्ने अनुभूति भएको बताउनुभएको हो । कोभिड–१९ बाट विश्वभर मृत्यु हुनेहरुको दर बढी रहेको तर नेपालले शून्य दशमलव २ प्रतिशतभन्दा कममा रोक्न सक्नु सबैभन्दा सकारात्मक पक्ष भएको मन्त्री ढकालको ठहर थियो । नेपाल कोरोना रोकथाम तथा नियन्त्रणका लागि दक्षिण एसिया मै राम्रो रहेको उहाँले बताउनुभयो । भारतमा भन्दा नेपालमा पहिला कोरोना सङ्क्रमणको केस देखिएको तर अहिले भारतमा उच्च गतिमा वृद्धि भइरहँदा नेपालमा नियन्त्रण भित्रै रहेको ढकालको भनाई छ ।
सरकारको स्वास्थ्य नीति कस्तो छ र सरकारबाट कस्तो स्वास्थ्य सुविधा पाउन सकिन्छ भन्ने थाहा पाउन एक पटक वीर अस्पतालमा जानै पर्ने समेत मन्त्री ढकालले बताउनुभयो । सो अवसरमा उहाँले वीर अस्पतालमा आउँदा सेवाग्राहीलाई राज्यको मुटु अस्पतालमा आएको छु भन्ने अनुभूति गर्न सक्ने गरी सेवालाई प्रभावकारी बनाउनसमेत निर्देशन दिनुभएको थियो ।
