बालबालिकाका समस्या बुझ्न र उनीहरुको अधिकार सुनिश्चित गर्न बालबालिकासँग सिधा छलफल गर्न विज्ञहरुले सांसदहरुलाई सुझाव दिएका छन् । प्रतिनिधि सभा अन्तर्गतको महिला तथा समाजिक समितिको शुक्रबारको बैठकमा विज्ञहरुले बालबालिकाका समस्या बुझ्न र उनीहरुको अधिकार सुनिश्चित गर्न बालबालिका सँग छलफल गर्न सुझाव दिएका हुन् ।
अधिवक्ता एवं काठमाडौं विश्व विद्यालयका भिजिटिङ सह–प्राध्यापक शिवप्रसाद पौडेलले संसदको समिति भित्र वा बाहिर प्रदेश र स्थानीय तहसम्म पुगेर बालअधिकारका विषयमा बालबालिकासँग नै रचनात्मक छलफल गर्नुपर्ने बताउनुभयो ।समितिले निर्माण गर्ने कानूनमा बालबालिकाका अधिकारहरुलाई समेत प्राथमिकता दिन उहाँले आग्रह गर्नुभयो ।
कोभिड १९ बाट विद्यालयहरु बन्द रहँदा बालबालिकामा नकारात्मक असर परेको पनिउहाँले बताउनुभयो । अनलाइन शिक्षाको नाउँमा इन्टरनेटको पहुँच बालबालिकामा पग्दा दुरुपयोग हुन गएको विषयमा छलफल चलाउनुपर्ने उहाँले बताउनुभयो ।बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अभियान्ता मधु दवाडीले कुनैपनि कानून निर्माण गर्दा बालबालिकाको हक अधिकारको विषयलाई ख्याल गर्न सुझाव दिनुभयो ।
बालबालिकालाई कुनैपनि घरेलु, कलकारखाना, खानी वा अन्य जोखिमपूर्ण काममा लगाउन नपाउने व्यवस्था भएपनि कार्यान्वयनमा आउन नसकेको उल्लेख गर्दै त्यसतर्फ काम गर्न सांसदहरुलाई सुझाव दिनुभयो ।सरकारले बालबालिकाका लागि गर्ने लगानीमा कुनै अधार नदेखिएको भन्दै आधार स्पस्ट गरी बजेट विनियोजन हुनुपर्ने पनि बताउनुभयो । विज्ञहरुले सरकारले निर्माण गर्ने कनैपनि भौतिक पूर्वाधार बालबालिका मैत्रि हुनुपर्नेमा जोड दिएका छन् ।
