सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा फुटाउने प्रयोजनले एमाले पार्टी दर्ता गरिएको दावी गर्नुभएको छ । पुष्पलाल स्मृति दिवसको सन्दर्भमा राजधानीमा आयोजित कार्यक्रममा उहाँले पार्टीका अर्का अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियतामा निर्वाचन आयोगमा एमाले नामको पार्टी दर्ता भएको दाबी गर्नुभएको हो ।
प्रधानमन्त्री केपी ओलीमाथि पार्टी फुटाउन नेकपा एमाले नामक दल दर्ता गरेको आरोप राजनीतिक वृत्तमा लाग्दै आएको छ । चरम सत्ता संकटका कारण नेकपा फुटको डिलमा पुगेका बेला अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीमाथिनै एमाले दर्ताको आरोप लगाउँदै यसबाट पार्टी एकता संकटमा पुगेको बताउनुभयो ।
पार्टीको बैठक चलिरहेकै बेलामा अर्का अध्यक्षको सक्रियता र पहलमा नेकपा एमाले दर्ता भएको उहाँको आरोप थियो । प्रचण्डले ओलीले नै देशभर मान्छे उतारेर विरोध प्रदर्शन गराएको तर्फ संकेत गर्दै आफुहरुले त्यसो गर्न सक्ने तर पार्टी एकताकै पक्षमा नेता कार्यकर्तालाई अपील गर्दै आएको प्रष्ट पार्नुभयोे । एकताकै निम्ति पहल भइरहेको भन्दै उहाँले अझै पनि पार्टीमा विधि र विचारको विकास हुने र पार्टी नफुट्ने बताउनुभयो ।
कम्युनिस्ट विचार, माक्र्सवाद अनुसार पार्टी विवेक र सरकार भनेको सत्ता भएको भन्दै उहाँले सत्ताले पार्टीमाथि हैकम जमाउने स्थिति आएको बताउनुभयो । यस्तो अवस्था वैज्ञानिक मान्यताभन्दा बाहिरको हुने अध्यक्ष प्रचण्डको भनाइ थियो । अध्यक्ष प्रचण्डले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गर्ने पार्टीको निर्णय भएको पनि बताउनुभयो ।
