अविरल वर्षाले लमजुङमा पहिरो जाँदा १८ घर पुरिएका छन्। मस्र्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारी गाउँमा बुधबार बिहान पहिराले उक्त घर पुरिएका हुन्। उक्त स्थानमा मङ्गलबार गएको कपासेखोलाको पहिरोमा थप पहिरो सोही स्थानबाट आएकाले घर पुरिएका वडाध्यक्ष प्रेम बस्नेतले जानकारी दिनुभयो । पहिराले घर पुरिँदा सुजन अछामी, देवबहादुर सार्की, सिर्जना गोतामे लगायत ८ जना घाईते भएका छन्।
घाईतेहरुलाई स्थानीय खुदी स्वास्थ्य चौकीमा उपचार गराईरहेको र गम्भिर घाईते भएका दुई जनालाई भने सदरमुकाम स्थित जिल्ला सामुदायिक अस्पतालमा थप उपचारका लागी रिफर गरिएको छ। पहिरोबाट बिस्थापित भएकाहरुलाई स्थानीय सामुदायिक भवन, सामुदायिक विद्यालयमा राख्ने तयारीमा जुटेको मस्र्याङ्दी गाउँपालिकाले जानकारी दिएको छ।
घाइतेमध्ये सिर्जनाको खुट्टा भाँचिएको, देवबहादुरको खुट्टाको गेडी भाँचिएको र सुजनको टाउकोमा चोट लागेको छ। घाइतेलाई बेँसीशहर नगरपालिका–८ मा रहेको जिल्ला सामुदायिक अस्पतालमा ल्याउने तयारी भइरहेको छ। मङ्गलबार नै सो पहिराले गाउँमा क्षति गर्न थालेपछि स्थानीयलाई अन्यत्र राखिए पनि उनीहरु आज बिहान सामग्री निकाल्नका लागि आएका र सो पहिराले घाइते भएको वडाध्यक्ष बस्नेतले बताउनुभयो ।
गाउँका ८० घरमा नै क्षति पुग्ने सम्भावना रहेको स्थानीयको भनाइ छ। जनप्रतिनिधि, प्रहरी, स्थानीयलगायतले यतिबेला पहिराले नपुरिएका घरमा रहेका सामग्री निकालेका छन् ।
