स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर अध्ययन गर्ने भएको छ । इपिडिमियोलोजी तथा सरुवारोग नियन्त्रण महाशाखाले कोभिड–१९ का कारण कति मानिस प्रभावित बनेका छन् भनेर अध्ययन गर्न ‘सेरो प्रिभिलेन्स सर्वेक्षण’ गर्न थालेको हो । महाशाखाले विश्वस्वास्थ्य संगठनको सहयोगमा कोभिड–१९ को देशभरि मानिसमा पारेको प्रभावबारे अध्ययन गर्न थालेको हो ।
महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले कोभिड–१९ समुदायमा कुन तहसम्म पुगेको छ भन्ने थाहा पाउनका लागि ‘सेरो सर्वेक्षण’ गर्न थालिएको बताउनुभयो । यसअघि, महाशाखाले काठमाडौं उपत्यकामा कोभिड–१९ को संक्रमण समुदायसम्म पुगेको छ वा छैन भनेर पाँच हजारजनामा ‘पीसीआर’ परीक्षण गरेको थियो । ‘सेरो सर्वेक्षण’ रगतबाट गरिने परीक्षण भएकाले संक्रमण देखिएका ठाउँमा गएर महाशाखाले मानिसको रगतको नमुना संकलन गर्नेछ ।पीसीआर परीक्षणले तत्काल सक्रिय भाइरस पत्ता लगाउने गर्दछ भने ‘सेरो सर्वेक्षण’ले पहिले मानिसमा देखिएका कोभिड–१९ को भाइरस पनि थाहा पाइने हुन्छ ।
‘सेरो सर्वेक्षण’ले कोभिड–१९ को संक्रमण भइ थाहै नपाइ निको भएका बिरामीमा भाइरस रहेको अवस्था पनि पत्ता लगाउनेछ । ‘तत्काल समुदायमा कोभिड–१९ को संक्रमण कस्तो रहेको छ भनेर पीसीआर परीक्षण गरिन्छ’–उहाँले भन्नुभयो–‘महामारीका रुपमा फैलिएको कोभिड–१९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर थाहा पाउन सेरो सर्वेक्षण गर्न थालिएको हो ।’
‘सेरो प्रिभिलेन्स सर्वेक्षण’बाट थाहै नपाइ निको भएका र लक्षण नदेखिएरपनि निको भएका बिरामीको अवस्थाबारे पनि थाहा हुनेछ ।नेपालमा कोभिड–१९ का ९७ प्रतिशत संक्रमित विनालक्षणका देखिएका छन् । ‘सेरो सर्वेक्षण’का लागि महाशाखाले सातओटै प्रदेशका संक्रमण बढी देखिएका जिल्लामा गएर मानिसको रगतको नमुना संकलन गर्नेछ । महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले सेरो सर्वेक्षण गर्नका लागि अन्तिम तयारीमा रहेको बताउनुभयो ।‘कोभिड–१९ को संक्रमणबाट कति मानिस आफैं नै सञ्चो भएका छन् । उनीहरुको संक्रमण भए÷नभएको हामीलाई थाहा छैन’–उहाँले भन्नुभयो–‘त्यसैले त्यस्ता मानिसमा रहेको भाइरसको अवस्था सेरो सर्भेलेन्सबाट थाहा हुनेछ ।’
कोभिड–१९ को भाइरसको संक्रमणको १४ दिनपछि मानिसमा ‘एन्टीबडी’ उत्पन्न गर्दछ । सेरो सर्भेलेन्सबाट कोभिड–१९ को संक्रमणमुक्त भएका मानिसको रगतमा भाइरसविरुद्धको एन्टीबडी कति बनेको थाहा हुनेछ ।‘मानिसमा रोगसँग लड्ने क्षमता हुन्छ । मानिस कुनै भाइरसबाट संक्रमित भएपछि उसमा भएको रोगसँग लड्ने क्षमताले एन्टीबडी बनाउने गर्दछ’–उहाँले भन्नुभयो–‘त्यही रोगसँग लड्ने एन्टीबडी कति बनेको छ भनेर हेर्नका लागि पनि सेरो सर्भे गर्न थालिएको हो ।’ उहाँकाअनुसार चाँडै नै संक्रमणप्रभावित ठाउँमा गएर सेरो सर्भे गरिनेछ ।