नेकपाभित्र देखिएको विवाद समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको भेटवार्ता सकिएको छ। दुई अध्यक्षबीच दुई घण्टाभन्दा बढी छलफल भएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार दुई अध्यक्षबीच कुराकानी भएको र अहिलेसम्म कुनै जानकारी नगराएको बताउनुभयो ।
दिउँसो ४ बजे बालुवाटार पुग्नुभएका प्रचण्ड साँझ ६ः४५ बजे बाहिरिनुभएको थियो । विवाद समाधानका लागि शनिबार बसेको सचिवालय बैठकमा आउँदो मंसिरमा एकताको महाधिवेशन गर्ने ओलीको प्रस्तावलाई प्रचण्डले समर्थन गरेको बुझिएको छ । तर आइतबार बिहान उहाँले आफू ओलीको प्रस्तावमा सहमति नभएको सार्वजनिक गरिसक्नुभएको छ ।
प्रचण्डले ओलीको प्रस्तावमा समर्थन गरेसँगै दुई नेताबीच फेरि आपसी सहमति भएको अनुमान गरिएको थियो। तर नेताहरु नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले मंसिरमा महाधिवेशन हुनेमा आशंका व्यक्त गरेका थिए। शनिबार मंसिरमा महाधिवेशन गर्ने प्रस्तावको समर्थन गर्नुभएका प्रचण्डले आइतबार वरिष्ठ नेताहरु नेपाल, खनाल, गौतम र श्रेष्ठसहितका स्थायी समिति सदस्यहरुसँग भने आफूले ओलीसंग कुनै सहमति नगरेको बताउनुभएको छ । उहाँले भुलवस ओलीको प्रस्तावको समर्थन गर्न पुगेको र आफूलाई परिवन्दमा पारेर राष्ट्रपति कार्यालय पुर्याइएको बताउनुभएको छ ।
असार १८ गतेदेखि स्थायी समिति बैठक स्थगित गरेर विवाद समाधानका लागि छलफल गरिरहेका प्रचण्ड दशौं पटक आइतबार पनि ओलीसँग छलफल गर्न बालुवाटार जानुभएको हो । प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिन दबाब दिएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । पार्टी स्थायी समिति बैठक फेरि मंगलबारसम्मका लागि स्थगित भएको छ।
