संस्कृत व्याकरणका विद्वान् एवं साहित्यकार प्रा.डा. विष्णुराज आत्रेय ‘लाटो साथी’को ७४ वर्षको उमेरमा निधन भएको छ । वि.सं. २००३ साल पुस २५ गते कपिलवस्तुमा जन्मिएका साहित्यकार लाटो साथीको शनिबार आफ्नै निवास बत्तीसपुतलीमा निधन भएको हो ।
उहाँ क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । संस्कृत, नेपाली र अवधि भाषामा कलम चलाउने डा. आत्रेयका ‘हनुमदयन’ र ‘वैदेही’ महाकाव्य, ‘ढाक्रे’, ‘कपिलवस्तु’ लगायत खण्डकाव्य, ‘हामीभित्रका म’, ‘सोमतीर्थ’, ‘सुपा देउराली’, ‘कपिलधाम’, ‘शान्ताकुञ्ज’, ‘पाणिनी’, उपन्यासलगायत तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् । संस्कृत भाषामा लेखिएको ‘हनुमदयन’ महाकाव्यका लागि उहाले वि.सं. २०७५ को जयतु संस्कृतम् पुरस्कार प्राप्त गर्नुभएको थियो ।
घरपरिवारमा संस्कृतमै वार्तालाप गर्ने साहित्यकार आत्रेयले लामो समय नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापन गर्नुभएको थियो । उहाँले नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभा सदस्यसमेत रहेर काम समेत गर्नुभएको थियो । शनिबार नै पशुपति आर्यघाटमा वैदिक विधिअनुसार उहाँको अन्त्येष्टि गरिएको छ ।
