अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३२ | Colorodo: 08:47

सोमबारदेखि ५ दिन देशभर भारी वर्षाको सम्भावना

बिआरटीनेपाल २०७७ साउन २ गते ७:२७ मा प्रकाशित

आउँदो सोमबारदेखि ५ दिन देशभर लगातार भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन सुरु भएयता परेको पानीले पहाड र चुरे क्षेत्रका अधिकांश भू–भाग गलिसकेकाले अब ५दिन पर्ने पानीले पहिरोको सम्भावना बढेको विभागले जनाएको छ ।

यसैबीच, मनसुन सुरु भएयता देशका विभिन्न स्थानमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ । प्रदेश नम्बर–१, प्रदेश नम्बर–२, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर–५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागद्वारा शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागको भनाइ छ ।

नेपालमा मनसुन सुरु भएदेखि हालसम्म मनसुनजन्य विपद्का घटनाबाट १ सय १० जनाको मृत्यु भएको छ । विभिन्न ठाउँमा गएको बाढी–पहिरो, चट्याङ, सर्पदंशलगायतका मनसुनजन्य घटनामा उक्त संख्यामा मानवीय क्षति भएको हो । बाढीपहिरोका कारण अझै ३२ जना बेपत्ता रहेका छन् भने १ सय ३२ जना घाइते छन् । विपद्बाट ४ सय १८ परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।

पहिरोका कारणमात्रै ८१ जनाको मृत्यु भएको छ । चट्याङबाट १७, सर्पदंशले १० र बाढीका कारण दुईजनाको मृत्यु भएको छ । देशका विभिन्न ३३ जिल्लामा विपद्बाट मानवीय क्षति भएको छ भने ६० जिल्लामा विपद्का घटना घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय