कास्कीको पोखरामा पनि सलह भटिएको छ । पोखरा महानगरपालिका १७ महतगौँडा क्षेत्रमा सलह किरा भेटिएको पुष्टि भएको पोखरा महानगरपालिका, कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो । शनिबार साँझदेखि नै सामाजिक सञ्जालमा सलह आएको हल्ला भए पनि आइतबार त्यस क्षेत्रमा सलह भेटिएको प्रमाणित भएको उहाँको भनाइ छ ।
‘स्थानीयले बिहान सात÷ आठ वटा भेटियो भन्नुभयो, त्यसपछि एउटा समाएर हेर्दा सलह नै रहेछ भन्ने हामीले बुझ्यौँ’, उहाँले भन्नुभयो, ‘पोखरामा हुल बाँधेर नै आएको त होइन तर एक–दुई वटा देखिए पनि सजग हुनुपर्ने बेला आएको छ ।’
किसानलाई सलह चिनाएर क्षति न्यूनीकरणको लागि सजग बनाउन महानगर लागिपरेको उहाँले बताउनुभयो । यो बेलामा किसानलाई बाली संरक्षण गर्न पठाउने र हुल नै बाँधेर आएको खण्डमा नियन्त्रणको लागि विषादी छर्कनेलगायतका योजना महानगरले बनाइरहेको उहाँको भनाइ छ । खेती बढी हुने ठाँउमा सलह जाने भएकोले ग्रामीण भेगतिरका किसानहरुसँग जानकारी लिइरहेको कडरियाले बताउनुभयो ।
