गृहमन्त्री रामबहादुर थापा (बादल)ले अंगीकृत नागरिकता राष्ट्रको सुरक्षासँग जोडिएको बताउनुभएको छ । सोमबार (आज) राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले अंगीकृत नागरिकता व्यक्तिको अधिकारभन्दा पनि राष्ट्रको प्रगति र सुरक्षासँग जोडिएको बताउनुभएको हो ।
उहाँले अंगीकृत नागरिकता राष्ट्रको प्रगति र अस्तित्वसँग जोडिएको बताउनुभएको हो । यसको समाधान गर्दा राष्ट्रिय एकता सुढृड होस् भन्ने तरिकाले कुरा गर्नुपर्ने उहाँको भनाइ थियो । विवाह गरेको ७ वर्षपछि मात्रै विदेशी बुहारीलाई अंगीकृत नागरिकता दिने भन्ने प्रस्तावले राष्ट्रिय एकता खल्बल्याउने हो कि ! भन्ने र राष्ट्रवाद र राष्ट्रघातको प्रश्न उठेको उहाँले बताउनुभयो ।
त्यस्तै, उहाँले नागरिकता विधेयक ढिला गर्न नहुने र संघीय संसद्को चालू अधिवेशनबाट पारित गर्नुपर्छ भन्ने सरकारको मान्यता रहेको पनि जानकारी गराउनुभयो । साथमा उहाँले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई समितिले अगाडि बढाएर संसद्मा पठाउन पनि आग्रह गर्नुभयो ।
